चन्द्रनिगाहपुर / रौतहटमा यस वर्ष चाडपर्वका बेला समेत बजार अनुगमन हुन सकेको छैन  । जिल्लाको चन्द्रपुर बजारमा एक दिन बजार अनुगमन गरिएको जस्तो गरिए पनि जिल्लाको अन्य व्यापारिक केन्द्रहरुमा बजार अनुगमन नहुदा सर्बसाधारण ठगिन बाध्य भएका छन् ।  जिल्लाको गौर ,चन्द्रनिगाहपुर ,गरुडा ,कटहरिया लगायतका बजारमा अनुगमन हुन नसकेको हो  । दसैं, तिहार, छठ लगायत प्रमुख पर्वमा हरेक सरसामानको व्यापार बढ्ने गर्छ । यही मौका छोपेर व्यापारीहरूले अस्वाभाविक भाउ बढाउँदा सर्वसाधारण उपभोक्ता मारमा परेका छन । चाडबाडका बेला अस्वस्थकर मिसावट म्याद गुज्रेका सामानको समेत बिक्री हुने गरेको छ । तर बजार अनुगमनमा स्थानीय तहले समेत चासो देखाएको छैन । अहिले जिल्लाको प्रमुख व्यापारिक केन्द्रहरूमा दसैंका लागि किनमेल गर्नेको भीडभाड छ । अनुगमन अभावमा बजार महँगो भएकाले सर्वसाधारण उपभोक्ता ठगिने क्रम बढेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका सचिव टिका घिमिरेको भनाइ रहेको छ । ‘चाडपर्वका बेला प्रमुख बजारहरूमा उपभोक्ताको भीड छ, यस वर्ष अनुगमन नभएकाले उपभोक्ताहरू ठगिनु परेको गुनासो बढेको छ,’ उनले भने, ‘उपभोक्ता ठगीमा परिरहँदा स्थानीय प्रशासन र स्थानीय तह मौन बसेको छ ।’ अनुगमनको जिम्मा पाएका स्थानीय प्रशासन र स्थानीय तहले कर्मचारी अभावका कारण बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन नसकेको बताइरहेका छन । जसको फाइदा कालोबजारी गर्ने व्यापारीले उठाइरहेका छन । अधिकांश पसलहरूमा म्याद नाघेका सामान बिक्री भइरहेको छ । पर्व नजिकिँदै गर्दा व्यापारीले यस्ता सामान बिक्री गरेका हुन । राष्ट्रिय महत्त्वका मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा अखाद्य र मिति सकिएका सामान बिक्री भएको भन्ने आमउपभोक्ताको गुनासो छ ।