पथरीशनिश्चरे । सरोकारवालाहरुले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभित्र दशैं तिहारको समयमा शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा निकायको ध्यानआकर्षण गराएका छन् ।

रेडियो सिम्रिकले बुधबार राखेको दशैंतिहारको शुभकामना सहित शान्ति सुरक्षाका सवालमा राखेको कार्यक्रमका सहभागिहरुले त्यस्तो ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा पथरीशनिश्चरे निवासी १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राई, नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, पथरी काठमाडौं मैत्री समाजका अध्यक्ष लक्ष्मीप्रसाद कोइराला, नयाँशक्ति पार्टीकी नगर अध्यक्ष तारा दवाडी, पथरी जेसीज अध्यक्ष टीकाविक्रम चौहान सहितले नगरको शान्तिसुरक्षाको चुस्तताको कुरा उठाएका छन् ।

कार्यक्रममा, पथरीशनिश्चरेका गहनाका रुपमा रहनु भएका वीर अस्पतालका निर्देशक डाक्टर भूपेन्द्रकुमार बस्नेतले सवै पक्ष मिलेर इमान्दारिताका साथ नगर सहित देशको शान्तिसुव्यवस्था र प्रगतिमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

सुरक्षा निकायका तर्फबाट इलाका प्रहरी कार्यालयका पथरीका प्रमुख कमल बजगाईंले विनावर्दीका प्रहरीका रुपमा रहेका स्थानीयको सहकार्यमा चाडपर्वको शान्ति सुरक्षा सुव्यवस्थित बनाउन आफूहरु रणनीतिक रुपमा समेत सक्रिय रहेको बताए । पूर्वपश्चिम लोकमार्गसंगै जंगलसंग जोडिएको नगर क्षेत्रको शान्ति सुरक्षाका लागि आफुहरु संवेदनशील भएको बजगाईंको भनाई छ ।