विविसी /भारतका एकजना विवादित बाबा र अन्य १४ जनालाई चार वर्षअघि एकजना १८ महिने शिशु र चार महिलाहरूको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ। हरियाणा राज्यस्थित एक अदालतले रामपाल नामका बाबालाई गत साता दोषी ठहर गरेको हो।

उनीमाथि अर्को पनि हत्या गरेको आरोप छ र त्यसमाथि आउँदो बुधवार फैसला सुनाइँदै छ। रामपालका समर्थक र प्रहरीले झडप गर्दा पीडितहरूलाई कोठामा थुनिएको र उनीहरूलाई सास फेर्नै गाह्रो भएको अदालतले जनाएको छ। रामपाल आफ्ना लाखौं अनुयायीहरू भएको दाबी गर्छन् र उनका आश्रमहरू भारतभर छन्। चण्डीगढको उत्तरी सहरस्थित अदालतमा कडा सुरक्षाका माझ उनीमाथिको सजाय सुनाइएको थियो।

रामपालका वकिलहरूले अदालतको फैसलाविरुद्ध आफूहरूले पुनरावेदन दर्ता गर्ने बीबीसीलाई बताएका छन्। चार महिला र एक शिशुलाई आश्रमभित्रको एउटा बन्द कोठामा मृत अवस्थामा फेला परेको आरोपमाथिको सुनुवाई अदालतले गरेको थियो। रामपालमाथि पहिलोपटक सन् २००६ मा हत्यासम्बन्धी अभियोग लागेको थियो, जसमा उनको आश्रममा भएको एउटा झडपमा एकजनाको ज्यानसमेत गएको थियो।

उनले आफूमाथिको अभियोग अस्वीकार गरे र पछि धरौटीमा रिहा भएका थिए। आफूमाथि लागेका अभियोगबारे पटकपटक सुनुवाइका क्रममा अदालतमा उपस्थित नभएपछि उनीमाथि अदालतको अवहेलनाको अभियोगमा पक्राउ गर्न आदेश दिइएको थियो।

उक्त मुद्दामा भने सुनुवाई हुन बाँकी नै छ। सन् २०१४ को नोभेम्बर महिनामा हरियाणा राज्यस्थित रामपालको ठूलो-ठूलो पर्खाल लगाइएको आश्रममा प्रहरी पुग्दा उनले आत्मसमर्पण गर्न अस्वीकार गरेका थिए। उनका हजारौं समर्थकहरूले आश्रममा प्रहरीलाई छिर्न नदिँदा झडप समेत भएको थियो।

एकसातासम्म चलेको उक्त झडपका क्रममा थुप्रै मानिसहरू घाइते भएका थिए। विवादित बाबाका हतियार सहितका समर्थकहरूले मानिसहरूलाई बन्धक बनाएको र महिला र बालबालिकालाई मानव ढाल बनाएको प्रहरीले आरोप लगाएको थियो। रामपाल सन् १९५१ मा हरियाणा राज्यको एउटा किसान परिवारमा जन्मिएका हुन्।

इन्जिनियरिङ्मा डिप्लोमा गरेपछि उनले स्थानीय सरकारमा काम सुरु गरे। पछि सन् १९९४ मा उनले मानिसहरूको समूहलाई आफ्ना प्रवचनहरू सुनाउन थाले। आफ्ना अनुयायीहरू बढ्न थालेपछि हौसिएर उनले सन् १९९९ मा एउटा आश्रम पनि खोले। त्यसको एक वर्षपछि उनले आफ्नो सरकारी जागिरबाट राजीनामा दिए। अहिले थुप्रै राज्यमा उनका लाखौं अनुयायी छन्। रामपाल आफूले हजारौं मानिसहरूको रोग निको पारेको र विक्षिप्त भएका परिवारहरूलाई पुन: समृद्ध बनाएको दाबी गर्छन्।