राजविराज /  सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नामस्तामा फितलो सुरक्षा व्यवस्थाका कारण सात जना भक्तजनको सुनको सिक्री लगायत सुनचाँदीका गहना चोरी भएको छ । शक्तिपीठमा भक्तजनको अत्यधिक चापका बीच फितलो सुरक्षा व्यवस्थाले पूजाआजा तथा दर्शन गर्न आउनेहरुको सिक्रीलगायतका गहना लुछिएको हो । छिन्नमस्ता भगवती शक्तिपीठमा पूजा गर्न क्रममा मधेश ईन्जिनियर्स एसोसिएसनका केन्द्रिय अध्यक्ष ई संजिवनारायण यादवसहितका व्यक्तिहरुको सुनचाँदीका गहना चोरी भएको प्रहरीले जनाएको छ । गहना चोरेको आशंकामा एक अधवैशे महिला पक्राउ परेकी छिन् । उनलाई छिन्नमस्ता स्थित ईलाका प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ । अत्यधिक भींडभाडको मौका छोपी शक्तिपीठभित्र प्रवेश गर्ने क्रममा आफुले लगाएको सिक्री लुछिएको उनले बताए । शक्तिपीठ परिसरमा सीसी क्यामरा जडान गरिएको भए पनि रेकर्डमा नरहेकोले सिक्री लुछ्ने लुटेराको पहिचान हुन सकेको छेन् । उनका अनुसार नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरुको चापलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पार्नुका साथै सतर्कता अपनाउनुपर्नेमा यसवर्ष खासै ध्यान दिईएको देखिएन ।