धरान/ आरम्भ नाट्य डबली धरानले सडक नाटक ‘विपत् ! विपत् !! विपत् !!!’ प्रदर्शन गरेको छ ।

धरानका ९ स्थानमा विपत् प्रदर्शन गरेको हो । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपत्हरूको व्यवस्थापन कसरी गर्ने भन्ने सचेतना फैलाउन नाटक प्रदर्शन गरिएको अध्यक्ष तथा नाटकका निर्देशक गोपाल देवानले बताए ।

असोज २६ गतेदेखि प्रारम्भ भई असोज २८ गतेसम्म नाटक प्रदर्शन गरिएको थियो । कमेडी जनरामा रहेको नाटकमा प्राकृतिक विपत्मात्रै नभई मादकपदार्थ सेवन, लागूऔषधको प्रयोग, लापरबाहीपूर्वक सवारी सञ्चालन, असावधानीका कारण हुने आगलागीजस्ता विषय समेटिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, सुनसरीको आयोजनामा भएको नाटक धरानको ५, ८, ११, १३, १५, १६, १७ र २० मा प्रदर्शन गरिएको हो ।

विपद् जोखिम र त्यसको व्यवस्थापनबारे प्रभावकारी रूपमा सन्देश प्रवाह गर्न नाटक प्रदर्शन गरिएको कार्यक्रम अधिकृत शिवराम खड्काले बताए ।

नाटकमा शान्तिराम राई, बाल कलाकार सिर्जित सुवेदी, शोभा लामिछाने, सबिना राई, तीर्थ विक, प्रकाश पोख्रेल, कृष्ण तिम्सिना, पानस गुरुङ, प्रेम नेपाली र स्वतन्त्र कलाकार दीपेन्द्रसिंह दर्नालको अभियन रहेको छ ।