धरान/ शल्यक्रिया गर्नुअघि धनुषटङ्कारबाट बच्न प्रयोग गरिने टिटानस टक्सिड (टीटी) नामक भ्याक्सिनको हाहाकार भएको छ । भारतबाट आपूर्ति हुन छाडेपछि विगत डेढ महिनायतादेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानपरिसरका फार्मेसीलगायतमा टीटी भ्याक्सिनको हाहाकार भएको हो ।

विशेष गरेर गर्भवती भएको १६ देखि २० हप्तामा यो भ्याक्सिन दिने प्रचलन छ । त्यस्तै फलाम, सिसा, तारजन्य वस्तुले काटेमा वा घोचेमा पनि टीटी भ्याक्सिन लगाउने गरिन्छ । पहिलो गर्भवती भएको हकमा भने २ पटक यो भ्याक्सिन लगाउने बीपी प्रतिष्ठान प्रसूति विभागका चिकित्सक सूर्य रिमाल बताउँछन् ।

उनका अनुसार अहिले सरकारले नै टीटी भ्याक्सिन आपूर्ति गर्ने गरेको छ । तर, फार्मेसी व्यवसायीहरूका अनुसार सरकारले टीटी आयातमा अत्यधिक कर लगाइदिएका कारणले आपूर्तिमा समस्या भएको हो । एक फार्मेसी सञ्चालकले भने, ‘विगत डेढमहिनादेखि नै स्कारसिटी छ ।’ एउटा टीटीको बजार खुद्रा मूल्य ५० रुपैयाँ पर्छ । तर, कर केही बढी भएका कारण ल्याउन कठिनाइ भइरहेको फार्मेसी सञ्चालकहरू बताउँछन् ।

अहिले केही मेडिकलबाहेक अधिकांश मेडिकल हलमा टीटी अभाव छ । धरानका यज्ञबहादुर बनले आफ्नो श्रीमती पार्वती बनलाई काम गर्ने क्रममा काँटीले घोचेपछि टीटी हान्न खोज्दा नभेटेको बताए । ‘सारा मेडिकल चहारेँ’ उनले भने, ‘कही पनि पाइएन, छाताचौकदेखि घोपाक्याम्पसम्म पुगे । प्रत्येक मेडिकलमा सोध्दा पनि पाइएन ।’ अनिवार्य रूपमा प्रयोग गरिने यस्ता भ्याक्सिन आपूर्तिमा सरकारले गम्भीर लापरबाही गरेको उनको आरोप छ ।

नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य चन्द्रदत्त पौडेलका अनुसार अहिले आपूर्ति नभएका कारण अभाव भएको बताए । ‘जुन कम्पनीले काम गरिराख्या थिएँ । तिनीहरूले ल्याउन छाडे’ उनले भने, ‘टीटी भ्याक्सिन बनाउने कम्पनी र मार्केटिङ गर्ने कम्पनीले नै सरकारबाट लाइसेन्स लिनुपर्ने नियम बनाइदिएको छ । त्यसले केही गाह्रो बनाएको होला ।’

सरकारले विना दर्ताको औषधि तथा भ्याक्सिन ल्याउन कडाइ गरेका कारण पनि आपूर्तिमा कठिनाइ भएको उनले बताए । बीपी प्रतिष्ठानमा दैनिक ओपिडीमा ३ सयदेखि ४ सय गर्भवती जाँचका लागि आइपुग्ने गरेका छन् । त्यसमध्ये ७० प्रतिशतलाई टीटीको भ्याक्सिन लगाउनुपर्ने उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

‘क्लस्टिडियम टिटानी’ नामक कीटाणुका कारणबाट टिटानस रोग (धनुषटङ्कार) लाग्ने गर्दछ । यही कीटाणुलाई निष्क्रिय बनाउनका लागि भ्याक्सिन लगाउने गरिएको छ । ‘पछि लाग्ने रोगबाट बच्नका लागि यो भ्याक्सिन प्रयोग गरिन्छ’ –डा. रिमालले भने । नेपालमा सेरम इण्डिया र बिई नामक कम्पनीले टीटी भ्याक्सिन आपूर्ति गर्ने गरेको थियो ।