पाँचथर÷ जिल्लाको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक ९ गतेदेखि करेन्ट कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण सुरु हुने भएको छ । आयोजक कुम्मायक स्पोर्टिङ क्लवले सोमबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । स्थानीय पृथ्वी माविको खेलमैदानमा कार्तिक १५ गतेसम्म चल्ने प्रतियोगितामा पाँचथरका आठ स्थानीय तहहरुलाई सहभागि गराइने बताइएको छ । स्थानीय खेलाडिलाई प्राथमिकता दिएर गरिएको प्रतियोगितामा सम्बन्धित गाउँपालिका बाहिरको खेलाडिलाई खेलमा समावेश नगरिने आयोजक संस्थाका अध्यक्ष रोहन घिमिरेले बताए । करेन्ट चाउचाउले मूख्य प्रायोजन गरेको प्रतियोगिताको बिजेताले नगद एक लाख ११ हजार १११ रुपैंयाँ र उपबिजेताले नगद ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछ ।