धरान / आज नवरात्रिको छैटौं दिन, शक्ति–स्वरूपा कात्यायनी देवीको पूजा(आराधना गरिएको छ । कात्यायनीलाई साहसको प्रतिक मानिन्छ । दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने अवरोध रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।देवकार्य सिद्ध गर्नका लागि माता भवानी कात्यायन ऋषिको आश्रममा पैदा भएको विश्वास गरिन्छ । त्यसपछि उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।

नवरात्रको छैटौ दिन पूर्वका विभिन्न धार्मिक स्थलमा भक्तजनहरुको चहलपहल बढेको छ  । धरानको दन्त्तकाली, धनकुटाको निसानेमन्दिर, पाथिभरा, सप्तरीको कंकालीनी, छिन्नमस्ता, इलामको नारायणस्थान, माइस्थान, सिंहवाहीनी स्थल, ताप्लेजुङको पाथिभरा, भोजपुरको वासिराङलगायत शक्तिपीडहरुमा दैनिक धार्मिक अनुष्ठान आयोजना भइरहेका छन्  । दसैंको अवसरमा जिल्लाका धार्मिक स्थलमा चहलपहल बढेको छ । टाढाटाढाबाट समेत भक्तजनको उपस्थिति हुने गरेको छन् ।

नौरथा लागेसँगै धरानस्थित दन्तकाली मन्दिरमा दैनिक मेला आयोजना भईरहेको छ । विहान ४ बजेदेखि भक्तजनहरुको भीड लाग्ने गरेको छ । यस्तै सप्तरीको कंकालिनी मन्दिरमा पनि भाड बढेको छ । यहाँ अष्ठमीका दिन ठूलो मेला लाग्ने गर्दछ । चिताएको मनोकाक्षा पुरा हुने जनविश्वासले यहाँ हजारौ राँगा बोकाको बलि दिने गरिएको छ ।

सानो पाथिभरा नामले परिचित पूर्वको प्रमुख धार्मिक स्थल भेडेटारमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । धनकुटा नगरपालिका ६ स्थित निशान भगवती मन्दिरमा चहलपहल छ ।  अन्य समयमा भन्दा प्रत्येक वर्ष बडादसैंको अवधिमा निशान मन्दिरमा पूजा गर्नेको भीड बढी हुने पूजारी माधव दाहालले बताए ।मनोकामना पूरा हुने विश्वासका भक्तजन आउने गरेको उनले बताए । त्यहाँ प्रत्येक दिन ८ सयभन्दा बढी भक्तजनले दर्शन गर्छन् । घटस्थापनादेखि विजयादशमीसम्म बिहानको समयमा बढी भीड हुन्छ ।

मन्दिर हातामा पशुपन्छी बलि दिने चलन छ । महिलालाई मन्दिरको भित्री भागमा भने प्रवेश निषेध गरिने चलन छ । बजारको मध्य भागमा रहेको मन्दिर १८३२ सालमा पृथ्वी नारायण शाहको पालामा स्थापना भएको मन्दिर व्यवस्थापन समितिका जनार्दन घिमिरेले बताए । मन्दिरमा सन्ध्याकालिन आरती र अखण्ड दिप प्रज्वलन गरिँदै आएको छ । भक्तजनको व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा मन्दिर व्यवस्थापन समितिका स्वयम्सेवक खटिने गरेका छन् । निशान मन्दिरमा फूलपातीदेखि महानवमीसम्म विशेष बली दिने चलन पनि छ । घटस्थापनामा जमरा राख्नेदेखि विशेष पूजा पनि गरिन्छ । यसैगरी सहिदभूमि गाउँपालिकाको छिन्ताङ देवी मन्दिरमा अन्य बेलाभन्दा दसैंमा सर्वसाधारणको भीड लाग्ने गरेको छ । उक्त स्थानमा सामान्य अवस्थामा पनि भक्तजनको उल्लेख्य सहभागिता हुने गरेको छ ।