विराटनगर/विराटनगर–१५ का राजकुमार राईसँग विराटनगर जुट मिल्समा ३० वर्ष काम गरेको अनुभव छ । त्यही अनुभवले गर्दा मिल फेरि चल्न थालेपछि जागिर खान शुरु गरेका हुन् ।

जुट मिल्समा काम गरेको अनुभवका आधारमा उनले सहज रूपमा जागिर पाए ।

‘विराटनगरको रानीमा अवस्थित विराटनगर जुट मिल्स सञ्चालन हुने खबर सुन्नासाथ खुशीले हर्षित भएँ’ उनले भने, ‘मैले यो जुट मिल्समा आफ्नो सम्पूर्ण जीवन नै बिताएँ । फेरि चल्न थालेको छ । नयाँ आएको टिमले उत्पादनलाई निरन्तरता दिनुपर्दछ ।’

जुटको सुतली उत्पदान गरेपछि नली सफा गर्न पोख्त रहेका राईले मिलमा काम गरेको एक महिना हुन नपाउँदै व्यवस्थापनबाट दशैंको लागि पैसा पनि पाएका छन् ।

‘काम गरेबापतको पैसा लिँदै उनले भने, ‘समयमै पैसा पाएँ । तलबबाटै दशैंखर्च जुटाउने योजना छ ।’ अब रोजगारीको वातावरण बन्नेमा आशा पलाएको उनले बताए ।

राई मात्र होइनन् जुट मिल्समा कार्यरत अन्य मजदुरहरूले समेत काम गरेबापतको पैसा दशैंमा पाउँदा निकै खुसी देखिन्थे । विराटनगर–१५ का कृष्ण बस्नेत २० वर्ष आबद्ध भएको विराटनगर जुट मिल्स धेरै समय बन्द भयो ।

यस अवधिमा उनी रोजगारीको खोजीमा निकै भौंतारिए । ‘कतै जागिर भेटिएन’ उनले भने, ‘जुट मिल्स सञ्चालनमा आएको थाहा पाउनासाथ मिल सञ्चालन समितिका पदाधिकारीसँग भेट गरेँ ।

आफ्नो अनुभवको फेहरिस्त सुनाउनासाथ मलाई काम मिल्यो ।’ उनी भन्छन्, ‘अब मैले फेरि यही मिल्समा आएर काम गर्ने अवसर पाएको छु । निकै हर्षित छु ।’ तीन जना रहेको बस्नेत परिवारले दशैंमा काम गरेको पैसासमेत पाएका छन् ।

खुसीले हर्षित हुँदै उनले भने, ‘बारम्बार बन्द भएको यो मिलले धेरैको जीवन बनाएको छ । धेरैको रोजीरोटीको व्यवस्था गरेको छ । मिल लामो समयपछि फेरि सञ्चालन शुरु हुनु निकै नै सुखद् पक्ष हो ।’

मिलमा वर्षौंसम्म काम गरेका मजदुर फेरि काममा फर्किएका छन् ।

मिलमा वर्षौंसम्म काम गरेका मजदुरी गर्न फेरि काममा फर्किएका विराटनगरका सुदर्शन श्रेष्ठले आफूहरूको जीवन नै मिल्ससँग जोडिएको र बन्द हुँदा भावनात्मक रूपमा निकै चोट पुगेको बताए ।

उनी भन्छन्, ‘मिलले फेरि उत्पादन थालेपछि म पनि काम गर्न फर्किएको छु ।’ विराटनगर जुट मिल्सले कार्यरत सबै मदजुरलाई दशैंमा तलब दिएको अध्यक्ष वसन्त बनले जानकारी दिए ।

मिलमा जुट उत्पादनमा मात्र ६५ जनाभन्दा बढी मजदुर कार्यरत छन् ।