इनरुवा / दशैं नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवामा खसीबोकाको व्यापार बढेको छ ।  दशैंमा देवी वा कालीलाई प्रसादको रूपमा चढाउन र घरमा मासु खानका लागि समेत खसीबोका खरिद गर्न आउनेको संख्या बढेको हो ।

सदरमुकाम इनरुवामा लाग्ने हाटमा मात्रै एक दिनमा ९ सय खसीबोका खरिद–बिक्री भएको स्थानीय व्यापारी खुदा अहमले बताए । सुनसरीमा सप्तरी, सिराहा तथा काठमाडौंका समेत व्यापारीहरू आउने भएकाले खसीबोकाको कारोबारमा वृद्धि भएको व्यापारीहरूले बताए ।

बजारमा खसीबोकाको माग बढेपछि अवैध रूपमा भारतीय खसीबोका समेत व्यापारीहरूले भिœयाइरहेको स्थानीय चन्दन मेहताको आरोप छ ।

भारतीय बजारमा नेपाली बजारभन्दा खसीबोका सस्तोमा पाउने भएकाले व्यापारी तथा केही तस्करहरूले सीमापारिको बजारबाट खसीबोकाहरू अवैध रूपमा ल्याउने गरेको गुनासो बढिरहेको छ ।

बजारमा खसीबोकाको माग बढेपछि खसीबोकाको मूल्य पनि आकाशिएको छ । खसीबोकाको मूल्य अकाशिएपछि उपभोक्तालाई समस्या भएको उपभोक्ता बबिता उराँवले बताइन् ।