बिर्तामोड/ झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थानीय तहसँगको सहकार्यमा १९ वटा सामाजिक काम गर्ने घोषणा गरेको छ ।

सहारा नेपालले विपन्न नागरिकका लागि घर निर्माणदेखि सम्पूर्ण स्वास्थ्य उपचारमा सहयोग गर्नेसम्मको घोषणा गरेको हो । विपन्न नागरिकलाई घर निर्माण गर्नका लागि सहाराले झापा जिल्लाका ६ वटा स्थानीय तहसँग सम्झौता गरेको छ ।

ह्याविट्याट फर ह्युम्यानिटीको सहयोगमा सहाराले स्थानीय तहमा रहेका विपन्न नागरिकलाई घर निर्माण गर्न लागेको हो ।

झापाको अर्जुनधारा, बिर्तामोड, कन्काई नगरपालिका तथा गौरीगञ्ज, झापा र बाह्रदशी गाउँपालिकामा रहेका विपन्न समुदायका नागरिकका लागि घर निर्माण गर्ने सम्झौता भएको छ ।

मेचीनगर नगरपालिकासँग सो सम्झौता हुने सहमति भएको भए पनि नगरपालिकाका प्रतिनिधि उपस्थित नभएपछि रोकिएको बताइएको छ ।

यसवर्ष विराटनगर उपमहानगरपालिकामा १ सयवटा घर निर्माण गरेर हस्तान्तरण गर्न लागिएको सहाराले जनाएको छ । झापामा २ सय घर निर्माण हुँदै गरेको संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।

कृषकले आफ्ना उत्पादनको उचित मूल्य नपाइरहेको समयमा सहाराले त्यसको समाधानका लागि भूमिका निर्वाह गर्ने घोषणा गरेको छ । झापाका स्थानीय तहको हरेक वडामा एउटा एउटा ज्येष्ठ चौतारी निर्माण गर्ने सहाराको योजना रहेको कार्यकारी निर्देशक महेन्द्र गिरीले बताए । सरकारले अघि सारेको सामुदायिक स्वास्थ्य बिमालाई अझ प्रभावकारी बनाउन सहाराले भूमिका खेल्ने उनले बताए । उनले नागरिकका सबै प्रकारका रोगको उपचार गर्ने योजनासहित सहकार्य गर्ने घोषणा गरेका छन् । सहाराले दीर्घरोग लागेका आफ्ना सदस्यलाई उपचार खर्च प्रदान गर्दै आएको छ ।

‘विपद्को सहारा’ नारासहित विपद् व्यवस्थापनपूर्व तयारीका लागि सहाराले कार्यक्रम अघि सारेको छ । सरसफाइ तथा अग्र्यानिक तरकारी उत्पादनमा सहभागी हुने बताएको छ ।

यस्तै झापाका १५ वटा स्थानीय तहमा १ सयका दरले युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको बताइएको छ । पशु बधशाला स्थललाई आधुनिक र व्यवस्थित बनाउन अनुदान दिने योजना रहेको गिरीले बताए ।

सहारा नेपालले १ लाख र स्थानीय तहले दुईलाख प्रदान गरेर पशु बधशालालाई व्यवस्थित बनाउन सहमति भएको बताइएको छ । खासगरी झापाको शिवसतासी नगरपालिकालाई मौरीपालनको पकेट क्षेत्र बनाउने अभियान रहेको गिरीले बताए ।

सिंचाइको सुविधा रहेको शिवसतासी नगरपालिकालाई धान सुपरजोन अन्तर्गत विभिन्न अनुदानका कार्यक्रम ल्याउने बताइएको छ । सहारा नेपालले यसअघि पनि झापाका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गरेको थियो ।

त्यसलाई निरन्तरता दिनका लागि स्थानीय तहसँग सहकार्य गर्ने योजना रहेको उनले बताए ।

सहाराले प्रदेशमा रहेका स्वास्थ्य संस्थालाई २० वटा एम्बुलेन्स प्रदान गर्ने भएको छ । प्रदेश नम्बर १ को यायायात व्यवस्थापनका लागि सहाराले सडक सुशासन र ट्राफिक व्यवस्थापनको क्षेत्रमा उपस्थिति जनाउने योजना बनाएको बताएको छ ।

सहाराले प्रदेशका ठूला शहरहरूमा ट्राफिक बत्ती जडान गर्नेदेखि दुर्घटना घटाउन भूमिका निर्वाह गर्नेसम्मको कार्यक्रम अघि सारेको छ । यसका लागि ५ करोड रुपैयाँ खर्च हुने अनुमान संस्थाको रहेको छ ।

उद्यमशीलता र व्यवसायको विकास, महिलाको प्रजनन् स्वास्थ्य कार्यक्रम, किशोरीहरूमा आत्मरक्षा तथा आत्मविश्वास तालिम, शान्ति र विकासका लागि संवाद कार्यक्रम र स्थानीय तहस्तरीय फुटबल प्रतियोगिता आयोजनामा सहाराको स्थानीय तहसँग सहकार्य गर्ने सम्झौता भएको हो ।

प्रदेशका विभिन्न ६ वटा जिल्लामा कार्यक्षेत्र बनाएको सहाराले अब प्रदेशभरि कार्यक्षेत्र विस्तार गर्ने बताएको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुरमा सहारा नेपालको सेवा केन्द्र स्थापना भएको छ ।

सहाराको शेयर पुँजी ८८ करोड ८९ लाख २४ हजार, बचत ३ अर्ब ५८ करोड, ९८ लाख, वाह्य ऋण १ अर्ब ६४ करोड ८९ लाख, विभिन्न कोषहरू ८४ करोड ६५ लाख, ऋण लगानी ५ अर्ब ७३ करोड २० लाख रहेको संस्थाले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको कुल सम्पत्ति र दायित्व ७ अर्ब २३ करोड रहेको बताइएको छ ।

सहाराले यसवर्ष ८ करोड १४ लाख बढी कर तिरेको जनाएको छ । सहाराले मुलुकमै सबैभन्दा बढी कर तिर्ने संस्था भएको दाबी पनि गरेको छ ।