धरानमा रमाइलो मेला लगाउने विषयमा निकै टिका टिप्पणीहरु शुरू भएको छ । धरान उपमहानगरपालिकाले धरान–१२ स्थित छिमेकी युवा समूह र धरान–५ स्थित सयपत्री बोइज युनियन क्लब पानवारीलाई मेला लगाउन स्वीकृति दिएपछि मेलाको समर्थन र विरोधमा यहाँका स्थानीय देखिएका छन् । हुन त प्रदेश नं. १ का विभिन्न स्थानमा दशैं, तिहारलक्षित मेला सञ्चालन भइरहेका छन् । ती मेलाको खासै चियोचर्चाे हुँदैन । स्थानीयलाई किनमेल तथा मनोरञ्जन दिन इटहरीलगायतका स्थानमा मेला सञ्चालन भइरहेकै छन् ।

यद्यपि धरानमा दशैं प्रवेशसँगै लाग्न लागेका मेलाबारे सकारात्मकभन्दा पनि बढी नकारात्मक टिप्पणीहरु आउन थालेका छन् । विगतमा एउटा संस्था पर्दाअगाडि खडा गरेर ‘राजनीतिक डनहरु’ को आयोजनामा हुँदै आएको मेलामा स्थानीयलाई मनोरञ्जनभन्दा पनि जुवाजन्य खेल, हाउजीजस्ता खेलतमासा खेलाएर युवाहरुबीच झै–झगडाको वातावरण सिर्जना हुने गरेको थियो । मेला यहाँका राजनीतिक दलहरुका नेता, युवाजमात, कर्मचारी र प्रहरी प्रशासनलाई ‘दशैं खर्च’ उठाउने अवसर बन्ने गरेको थियो ।

सबैलाई मिलाएर लगाएको मेलामा ठूलो आर्थिक चलखेल हुने गरेको थियो । यस्तो परम्पराले धरान नै बदनाम भएका कारण विगत ३ वर्षदेखि नागरिक समाजको दबावमा प्रशासनले मेला आयोजना गर्न बन्द गरेको थियो । तर यो वर्ष बिना तयारी एक्कासि उपमहानगरपालिकाले मेला आयोजना गर्न अनुमति प्रदान गरेपछि फेरि विगत दोहोरिने भयले बजारमा नकारात्मक टिप्पणीहरु आएका छन् । निश्चय नै इतिहास खराब भयो भने वर्तमानमा त्यसलाई सच्याउन कठिन हुन्छ । विगतका मेलाले बदनाम भएकाले यतिबेला मेला आयोजकहरुले असल उद्देश्य राखेर काम गर्न खोजे पनि आलोचित हुनु स्वभाविक हो ।

वर्तमान विगतजस्तो हुँदैन भन्ने आम धराने जनतालाई विश्वास दिलाउने गरी आयोजकले काम गर्न सक्यो भने मात्र भविष्यमा सकारात्मक सन्देश जानेछ । मेला लगाउन स्थानीय प्रशासनले अनुमति दिइसकेको छ । यसलाई फिर्ता गर्न दबावभन्दा पनि यसलाई कसरी विकृतिरहित रमाइलो मेला बनाउन सकिन्छ भन्नेतिर ध्यान पु¥याउनु बाञ्छानीय देखिन्छ । धराने जनता तथा दशैँ, तिहारमा पाहुनाको रुपमा धरान आउने अतिथिहरुलाई मनोरञ्जन दिन विकृतिरहित मेला लगाउन स्थानीय आयोजक, प्रशासनले ध्यान पु¥याउनु पर्दछ ।

विगतजस्तो पर्दाअगाडि सामाजिक संस्था खडा गरेर पर्दापछाडि राजनीतिक डन, कुण्डले–मुण्डलेहरुले सञ्चालन गर्ने मेला धरानका लागि किमार्थ आवश्यक होइन । पवित्र उद्देश्य राखेर धरानेहरुलाई विशुद्ध मनोरञ्जन दिने हिसाबले मेला सञ्चालन हुनु पर्दछ । दुवै संस्थाले राम्रो उद्देश्य सार्वजनिक गरेका छन् । मेलाबाट उठेको रकमले छिमेकी समूहले एम्बुलेन्स किन्ने र क्लबले पानवारी क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यी दुवै काम स्वागतयोग्य नै छन् । मेलाको रकम भागबण्डा गर्नु नपर्ने हो भने ठूलो राशि आयोजकले सङ्कलन गर्न सक्छ । आयोजकले प्रहरी प्रशासनसँग सहकार्य गर्दै पर्दापछाडिका मेलाका ‘ठेकेदारहरु’ लाई बाइपास गरेर विकृतिरहित मेला बनाएर देखाउन सक्नु पर्दछ । यो चुनौती सामना गर्न आयोजक तत्पर हुनु पर्दछ । आयोजकले ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने सावित गर्नु किमार्थ हुँदैन ।