केपी ओलीको नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको बताउँदै बीबीसीसँगको कुराकानीमा उनले त्यो खण्डित हुने गरी कुनै सहमति नभएको दाबी समेत गरे। हालै भारतीय सञ्चार माध्ययमलाई दिएको अन्तर्वार्तामा प्रचण्डले पार्टी एकीकरण गर्दा शक्ति बाँडफाँटबारे सहमति भएको बताएका थिए।

वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार रहेका पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले केही दिनअघि चारबुँदे सहमति भएको फेसबुकमा उल्लेख गरेका थिए। तर नेता पोखरेलले भने, "मलाई आजको मितिसम्म त्यस्तो सहमति भएको थाहा छैन।"पछिल्ला दिनमा माधव नेपाल लगायतका नेताले सार्वजनिक रूपमै सरकारको आलोचना गर्दै आएका छन्। पोखरेलले सबै नेताहरूले पार्टीका निकायमा आफ्नो मत राख्नु पर्ने टिप्पणी गर्दै त्यसप्रति पनि असन्तुष्टि दर्शाए।