काठमाडौं / शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको आज अपराह्न पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली कार्यक्रम गरि अन्त्येष्टि गरिने भएको छ। उनका दुवै छोरी अपराह्न काठमाडौ आइपुगेपछि परम्पराअनुसार अन्त्येष्टि गरिने भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । अहिले बाँस्तोलाको पार्थिव शरीर उनकै निवास खुमलटारमा राखिएको छ। दिउँसो १ः३० बजेदेखि ४ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । नेता बाँस्तोलाको निधनमा शोक र श्रद्धाञ्जली व्यक्त गर्न कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज अपरान्ह २ बजे बस्दैछ ।

शान्ति प्रक्रियाताका माओवादीको सम्पर्क सूत्र बाँस्तोला थिए । २०६९ पुसमा मस्तिस्कघात भएका बाँस्तोलालाई नयाँ दिल्लीको मेदान्त अस्पतालमा लगेर उपचार गरिएको थियो। त्यहाँ तीन महिना उपचार गर्दा पनि पूर्ववत् अवस्थामा नआएपछि उनलाई स्वदेश फर्काइएको थियो । उनी एउटा फोटी प्रर्दशनी कार्यक्रम निहाल्दै गर्दा आकस्मिक लडेका थिए । २०७० कात्तिकदेखि भने उनको उपचार घरमै हुँदै आएको थियो।

६ वर्षसम्म ओछ्यानमा लडेरै अन्ततः उनको निधन भयो । त्यस बेला एक्कासि ढलेपछि उनलाई तत्काल धरानस्थित विपी कोईराला स्ववास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । आइसियूमा राख्नुपर्ने भए पछि अस्पतालले सिलिगुडीका लागि रेफर गरेको थियो । तर, सिलिगुडीमा पनि उपचार सम्भव नभएपछि एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल पुर्‍याइयो । मे

डा. उपेन्द्र देवकोटाले उपचार गरेका थिए । तर, उनको सामान्य होस मात्रै खुल्यो । त्यसपछि उनलाई खुमलटारस्थित निवासमै लगेर राखियो । ०७० कात्तिकदेखि उनी निवासमै नर्सिङ केयरमा थिए । अर्धचेत रहे पनि बास्तोला आँखा घुमाउँथे भने इसारा गरेको बुझ्थे । उनको स्याहारमा पत्नी कुशुम निरन्तर खटिएकी थिइन् ।

भारतका लागि नेपाली राजदूतसमेत भएका बास्तोला परराष्ट्रमन्त्रीसम्म बने । उनी ०४८ मा भारतका लागि राजदूत बनेका थिए । ०५२, ०५५, ०५६ र ०५७–५८ गरी चारपटक मन्त्री बने । ०५८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका थिए । उनले माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने क्रममा गिरिजाप्रसादसँग नजिक रहेर काम गरेका थिए । उनी बिपी कोइरालाले पनि रुचाउने नेतामा पर्थे । आत्मवृत्तान्तमा पनि बिपीले बास्तोलालाई स्मरण गरेका छन् । बास्तोला प्लेन हाइज्याकमा पनि भूमिका खेलेका नेता हुन् । बिपी र गिरिजाका लागि उनी नभई नहुने पात्रका रूपमा परिचित थिए । उनी कांग्रेसभित्र खरो नेताका रूपमा स्थापित थिए ।