शरद ऋतुको आगमनसँगै मौसममा माधुर्यता छाएजस्तो लाग्छ । कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ । चराचुरूङ्गीले सुमधुर गीत गुन्गुनाएजस्तो लाग्छ । सयपत्रीको बिरुवाले पनि नयाँ यौवन पाए जस्तो लाग्छ । कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ । आकाशमा सुन्दर शरदको रौनक छाएजस्तो लाग्छ । घामले पनि मुहारमा सुन्दर लाली लाएजस्तो लाग्छ । कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ । वर्षातले छाडेका हिलोमैलो पानीले बगाएजस्तो लाग्छ । परदेशिएकालाई पनि घर–गाउँको यादले सताएजस्तो लाग्छ । कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ । किसानीले वर्षात् र खेतीपातीको थकान मेटाएजस्तो लाग्छ । भक्तजनले पापी महिषासुर बध गर्न दुर्गाभवानी बोलाएजस्तो लाग्छ । कताकता आजभोलि दशैं नजिक आएजस्तो लाग्छ ।