धरान/ धरानबाटै शुरु भएको मितेरी विकास बैङ्कले धरान–३ स्थित सरस्वती बाल आश्रमका बालबालिकासँग शनिबार दशैं मनाएको छ ।

बैङ्कले आश्रममा आश्रित २५ बालबालिकालाई दशैंको कपडा प्रदान गर्दै उनीहरूसँग दशैं मनाएको हो ।

बैङ्कका प्रमुख, सञ्चालक तथा कर्मचारीले बालबालिकासँगै खाना खाएर दशैं मनाएका छन् । बैङ्कले सानै भए पनि बालबालिकालाई सहयोग गर्न पाएकोमा बैङ्का सीईओ तुलसी वस्तीले खुसी व्यक्त गरे ।

उनले मितेरी बैङ्कले जनताको सुखदुःखमा साथ दिँदै सेवा अघि बढाउने बताए ।

बालबालिकालाई करिब ३० हजार रुपैयाँ बराबरको कपडा प्रदान गरेको सञ्चालक समिति सदस्य एवम् कार्यक्रमका सभापति किशन मास्केले जानकारी दिए ।

उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकालाई कपडा प्रदान गरिएको बताए । बालबालिकाहरूलाई कपडा वितरण गरेर सहयोग गरेकोमा आश्रमकी अध्यक्ष नैनकला न्यौपानेले धन्यवाद दिइन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैङ्कका कार्यकारी प्रमुख तुलसी वस्ती, सञ्चालक समिति सदस्यहरू सरोज श्रेष्ठ, किसन मास्केलगायतले कपडा हस्तान्तरण गरे ।

हाल बैङ्कका १८ वटा शाखा छन् ।