धनकुटा/ निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला समिति धनकुटाले ११ वटा सरकारी कार्यालयमा कार्यरत निजामति कर्मचारीहरूले नेपालीहरूको महान् चाड दशैं आइसक्दा पनि तलब खान नपाएको गुनासो गरेका छन् ।

युनियले धनकुटाका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब र दशैं खर्च र भत्तासमेत नपाएको भन्दै शुक्रबार जिल्ला प्रसाशन कार्यालय धनकुटामार्फत् प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा ज्ञापन–पत्र पठाएका छन् ।

ज्ञापन–पत्रमा प्रदेश मातहतका सरकारी कार्यालयका कर्मचारीले तलब नपाएको गुनासो छ ।

ट्रेड युनियन धनकुटाका अध्यक्ष गोविन्द खत्री र सचिव शिव बुढाथोकीद्वारा हस्ताक्षर गरिएको ज्ञापन–पत्रमा भनिएको छ– ‘देश सङ्घीयताको चरणमा रहेको अवस्थामा धनकुटा जिल्लास्थित् विभिन्न कार्यालयहरूको सङ्घीय, प्रादेशिक र स्थानीय तहमा पूर्णरूपमा कर्मचारीको समायोजन र दरबन्दी मिलान नभएकाले गएको साउन १ गतेदेखि हालसम्म तलब, भत्ता नपाएर कर्मचारीहरूमा दशैंको मुखमा नैराश्यता छाएको छ ।’

प्रेषित ज्ञापन–पत्रमा अविलम्ब तलब, चाडवाड खर्चसमेत निकासा गरिदिने व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत् प्रधामन्त्रीलाई ध्यानाकर्षण गराइएको उल्लेख छ ।

प्रदेश सङ्ग्रहालय धनकुटाका प्रमुख चन्द्रप्रसाद अधिकारीले तीन महिनासम्म तलबविहीन हुनु परेको बताएका छन् । उनीलगायत कार्यालयमा कार्यरत अन्य ७ कर्मचारीको अवस्था पनि उस्तै छ ।

गत असार ११ गते तलब आएदेखि हालसम्म बैङ्क खातामा कार्यालय र कर्मचारीका लागि रकम जम्मा भएको छैन । कार्यालयको आवश्यक सामग्री खरिद गर्न नजिकको पसलमा उधारै काम चलाउँदै आएको उनले बताए ।

सामाजिक विकास मन्त्रालय मातहतको कार्यालयमा उक्त मन्त्रालय सम्हाल्ने मन्त्री जीवन घिमिरेले भ्रमण गरेर चाँडै निकासा गरिदिने आश्वासन दिएका थिए तर मन्त्रीको वचन पूरा नभएको कर्मचारीहरूले बताएका छन् ।

करिब १८ दिन अघि सङ्ग्रहालय भ्रमण गरेका मन्त्री जीवन घिमिरेले सङ्ग्रहालयलाई प्रदेश नं.१ को नमुना स्थानको रूपमा पाएको बताएका थिए ।

उनले कार्यालयको बजेट तत्काल निकासा गरिदिने बताए पनि लामो समय बित्दा रकम नआएको स्रोतको भनाइ छ । शिक्षा विकास निर्देशनायका निमित्त प्रमुख राजकुमार विश्वकर्माका अनुसार पुरानो संरचनामा प्राप्त रकम नयाँ संरचनामा परिणत भएपछि चलाउन नमिलेको बताए ।

डिभिजन वन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, जिल्ला प्राविधिक कार्यालय, शिक्षा विकास निर्देशनालय, महिला तथा बालबालिका कार्यालय, भू–जलधार व्यवस्थापन कार्यालय, प्रदेश सङ्ग्राहलय, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत कर्मचारीहरूको तलब नपाएको दशैंको मुखमा गुनासो छ ।

१८ दिन अघि प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटामा शिक्षा र स्वास्थ्य निर्देशनालय उद्घाटन गरेका थिए ।

सो समयमा यथासक्य चाँडो बजेट र जनशक्ति व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । तर हालसम्म मातहतका कार्यालय व्यवस्थापन र तीन महिनादेखि रोकिएको तलब समेत उपलब्ध हुन सकेको छैन ।

जिल्लामा क्रियाशील निजामति कर्मचारीहरूसँग आबद्ध सङ्गठन ट्रेड युनियन जिल्ला समिति धनकुटाले चाँडोभन्दा चाँडो समस्याको समाधानका लागि पहल गरिदिन नेपाल सरकारलाई ज्ञापन–पत्रमार्फत् आग्रह गर्नुको विकल्प नरहेको अध्यक्ष गोविन्द खत्रीले ब्लाष्टलाई बताए ।