विराटनगर । नेपालको सबैभन्दा पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिल्सले उत्पादन विक्री गर्ने तयारी गरिएको छ ।

पछिल्लो पटक जुट मिल्स संचालन भएको ढेड महिनापछि उत्पादन गरेको २२ टन जुटको सुतली विक्री गर्ने तयारी गरेको हो । यस अघि बारम्बार बन्द हुँदै संचालनमा आएको यस उद्योगले उत्पादन गरेपनि विक्री गर्न सकेको थिएन् । झण्डै एक दशक पछि उत्पादन विक्री लागेको हो । मिलले ७२ इन्च र ९० इन्च जुटको सुतली उत्पादन गरेको छ ।

७२ इन्चको ७ टन, ९० इन्चको १५ टन सुतली उत्पादन गरेको विराटनगर जुट मिलको अध्यक्ष बसन्त वनले जानकारी दिए । ९० इन्च लामो सुतली भारतको विक्री गर्ने तयारी गरिएको छ भने ७२ इन्चको स्वदेशको उद्योगमा विक्री गर्ने बताइएको छ । ९० इन्चको लामो सुतली स्वदेशमा विक्री नहुने भएकोले छिमेकी राष्ट्रयमा विक्री गर्ने तयारी उद्योगले गरेको हो । ‘मर्मत पछि मिल पुन रुपमा चल्दै आएको छ,’ अध्यक्ष वनले भने, ‘उत्पादन भएको जुट दशै अगाडी विक्री गर्ने तयारी गरेका छौं ।’

जुटको सुतली उत्पादन विक्री गरेपछि दशै पछाडी बोहरा उत्पादन गर्ने लक्ष्य रहेको छ । यसको लागि प्रक्रिया अगाडी बढाएको बताइएको छ । मिल संचालन आउँदा जुट मिल प्रशासनले ८० टन जुट खरिद गरेको थियो । जसमा २२ टन उत्पादन भइसकेका छ भने १० टन जुटको सुतली बनाउने प्रक्रियामा र बाँकी रहेको जुट स्टक गरिएर राखेको छ । पछिल्लो समय जुट मिल संचालन आएपछि पहिलो पटक उत्पादन सुरु गरि विक्री गर्न लागेको हो । जुट बोराको कच्चा धागो मानिने सुतली उत्पादनको काम अहिले दिवा र रात्रीकालिन गरी दुई सिफ्टमा भईरहेको जुट मिल्स सञ्चालक समितिका अध्यक्ष वनले बताए ।

विराटनगर जुट मिल्स गत भदौ २६ गतेबाट परीक्षण उत्पादन गरिएयता अहिलेसम्म २२ टन सुतली उत्पादन गरेको छ । विवाद र किचलोले बन्दैबन्दको इतिहास बनाईसकेको नेपालको पहिलो उद्योग सुतली उत्पादन गर्दै तङ्ग्रेको छ । विराटनगर जुट मिल्स बि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो । मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन ।

भारतीय कम्पनी विनसम इन्टरनेशनल लि.ले २०६९ सालमा वार्षिक १ करोड ३५ लाख रुपिँयमा लिजमा लिएको थियो । तर, ३० प्रतिशत मात्रै मेशिन चलेपछि उसले सम्झौता करार रद्द गरेको थियो ।

लामो समयपछि पुनः सञ्चालनमा आएको मिलबाट उत्पादन भएको वस्तु भारतमा निर्यात हुने प्रक्रियामा पुगेसँगै काम गर्ने मजदुरमा समेत उत्साह थपेको छ । कार्यरत मजदुर श्याम मेहताले अब रोजगारीको वातावरण बन्नेमा आशा पलाएको बताए । सुतली उत्पादनलाई तत्काल बोरामा परिणत गर्नका लागि बाँकी मेशिनरी वस्तुको मर्मत समेत भईरहेको छ । बोरासँगै आधुनिक प्रविधिसहितको मेशिन भित्र्याएर कपडा उत्पादन गर्ने लक्ष्य राखिएको छ । सञ्चालनका लागि मिल व्यवस्थापन समितिले तीन चरणको अवधारणा अगाडी सारेको हो । निरन्तर मिल्स चलाउनका लागि कच्चा जुट खरिद प्रक्रिया, जनशक्ति थप्ने, अन्य आवश्यक वस्तु खरिद गर्ने प्रक्रिया समेत बढाईसकिएको अध्यक्ष वनले बताए ।

उद्योगमा रहेको पुरानो मेशिन चलिरहेको छ । नयाँ मेशिनको मर्मत भने भईरहेको बताइएको छ । पुरानो मिलसँगै रहेका दुईवटा सप्नर, ४ वटा ब्रेकर, २ वटा ड्राइङ, ३ वटा स्प्रिङ्ग, एउटा ट्वीस्टिङ्ग र एउटा चर्खा चलिरहेका छन् । अझै ८ वटा ब्रेकर, १० वटा ड्राइङ, १८ वटा स्प्रिङ्ग, ४ वटा ट्वीस्टिङ्ग र २ वटा चर्खालाई चल्न सक्ने बनाउनका लागि मर्मतको काम भईरहेको छ । उत्पादन भएको सुतलीको ५० केजी र २५ केजीको प्याकिङ्ग भईरहेको छ ।