काठमाडौं / नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर विनाको नयाँ पचास रुपैयाको नोट बजारमा पुगेको छ। दशैंका बेलामा निर्वाणा बचत तथा ऋण सहकारी संस्था सामाखुसी काठमाण्डौबाट ५० रुपियाँको नोटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो। संस्थाका अनुसार १ लाख २० हजार रुपियाँ रिलायन्स फाइनान्सबाट निकालिएको बताइएको छ । जसमध्ये ५० रुपियाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर नै उल्लेख गरिएको छैन। बजारमा राष्ट्र बैंकले उपलब्ध गराएकै रकम शंकास्पद देखिँदा आम उपभोक्ता त्रासमा छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले धेरै रकममा केही त्रुटि हुनु स्वाभाविक भएको बताए । उनले मुद्रा व्यवस्थापन विभागमा सम्पर्क गरी हस्ताक्षर र रकम नै उल्लेख नभएको नोट साटेर अर्को लाने सकिने बताए ।