नेपालीहरूको ठूला चाड दशैं, तिहारको मौसम छ ।

घरमा स्कुले बालबालिका छन् भने त्यो घरमा यस्ता चाडपर्वको रौनक झनै बढी देखिन्छ ।

दशैँ–तिहार जस्ता चाडपर्वमा सबै बालबाालिकाको विद्यालयमा लामो बिदा हुने गर्छ । लामो समयसम्म बिदा हुने भएकाले यो समयमा बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूको समय व्यवस्थापन गर्न अभिभावकले महत्वपूर्ण भूमिका निर्वाह गर्नु एकदमै जरुरी हुन्छ ।

योे समय हामीले हाम्रा बालबालिकालाई आफ्नो संस्कृति र परम्परा सिकाउने र यसको महत्व बुझाउने अवसर पनि हो ।

यसले उनीहरूलाई चाडपर्वको महत्व मात्र होइन, विभिन्न धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न समेत प्रोत्साहन गर्छ ।

किन चाडपर्व मनाउने जस्ता विषयमा आफ्नो संस्कृतिको बारेमा ज्ञान बढाउँदा उनीहरूको बौद्धिक क्षमतामा पनि विकास पुगिरहेको हुन्छ ।

यसले उनीहरूको मानसिक विकासमा समेत मद्दत पुग्ने गर्छ ।

चाडपर्व मनाउने तरिका र विधिबारे बताउने साथै त्यो समयमा गरिने हरेक क्रियाकलापमा प्रत्यक्ष सहभागी गराउने, नौ किसिमका दुर्गा भवानीको पूजा गराउने, हरेक देवीको महत्व बारे बताउने र साँस्कृतिक रिसर्च गर्न लगाउने र लेख्न लगाउने गर्दा उनीहरूको बौद्धिक क्षमताको विकास हुन्छ ।

विद्युतीय सामानको प्रयोग कम गराऔं अभिभावकहरूले बालबालिकालाई छुट्टीको सयममा टिभी, कम्प्युटर मोबाइल फोन, भिडियो गेममा ढुक्कका साथ छोडिदिने गर्छन् ।

त्यस्तै इलोक्ट्रो किट पाएपछि बालबालिका पनि दिनभर भुलिन्छन् ।

तर यसबाट उनीहरूको दिन निष्क्रिय बन्छ ।

यस्ता सामग्रीको प्रयोगले बालबालिकाको मानसिक तथा शारीरिक रूपमा प्रत्यक्ष अप्रत्यक्ष असर पुगिरहेको हुन्छ । त्यति मात्र होइन, यस्ता गतिविधिमा रमाइरहँदा बालबालिकाहरूले नयाँ कुरा सिक्ने अवसरबाट पनि बञ्चित भइरहेका हुन्छन् ।

त्यसैले यदि सकिन्छ भने उनीहरूलाई दिनमा २ घण्टाभन्दा बढी विद्युतीय सामानसँग खेल्न दिनुहुँदैन । बरु त्यसको विकल्पमा लँुडो, चेसजस्ता खेलमा लगाउन सकिन्छ ।

जसमा अन्य साथीभाइबीच अन्तरक्रिया हुन्छ । यसबाहेक वरपरका उनीहरूका साथीभाइबीच भेटघाट गर्ने वातावरण मिलाइदिने र सक्रिय रचनात्मक कुराहरूमा सहभागी गराएर उनीहरूको मानसिक विकासमा थप सहयोग पु¥याउन सकिन्छ ।

शारीरिक सक्रियतामा जोड दिने स्कुले केटाकेटीको अधिकांश समय स्कुलमै बित्ने भएकाले भिन्नाभिन्नै स्वभाव भएका साथीभाइसँग कुराकानी, खेलकुद, भिन्नाभिन्नै विषयगत शिक्षकहरूसँग अन्तरक्रियामा सहभागी भइरहेका हुन्छन् ।

जसले गर्दा उनीहरूको शारीरिक, मानसिक, बौद्धिक तथा संवेगात्मक विकास भइरहेको हुन्छ ।

जब यस्ता चाडपर्वको बेला बालबालिकाको विद्यालय लामो समय बिदा हुन्छ, त्यो समयमा उनीहरू सक्रिय गतिविधिबाट केही टाढा हुन्छन् ।

यस्तो बेला अभिभावकले उनीहरूका लगि केही समय निकालेर बिहान हिँड्न लगाउने, साइक्लिङ सिकाउने तथा विभिन्न शारीरिक गतिविधिमा सक्रिय गराउनु पर्छ ।

हरेक बालबालिकामा अन्तरनिहित क्षमता हुन्छ । यो समय उनीहरूको क्षमतालाई नियाल्ने एउटा अवसर पनि हो । समयको अभावमा कतिपय बालबालिकाले आफ्ना रुचिको विषय र क्षमतालाई अरुमाझ प्रस्तुत गर्न सकिरहेका हुँदैनन् ।

यदि कुनै बच्चालाई कुनै विषयमा खास रुचि छ भने यो समय पर्याप्त उपयोग गर्न सकिन्छ । कसैलाई गीत–सङ्गीतमा कसैलाई लेखनमा रुचि होला त कसैलाई खेलकुदमा, उनीहरूको रुचिअनुसार क्लासमा लगाइदिन सकिन्छ ।

जसकारण उनीहरूको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन मद्दत पुग्छ तथा उनीहरूको चौतर्फी विकासमा समेत टेवा पुग्छ ।

पर्याप्त मनोरञ्जन गराऔं हरेक बालबालिकालाई छुट्टीमा मनोरञ्जनका लागि पनि पर्याप्त समय दिनु आवश्यक हुन्छ । जसले गर्दा उनीहरूको वृत्ति विकासमा सहयोग पुग्छ ।

अचेल धेरै स्कुलहरूले बच्चाहरूको बिदाको होमवर्क दिएको हुन्छ । त्यसका लागि दैनिक एक घण्टा छुट्याएर होमवर्क गर्न लगाउनु पर्छ । जसले पढाइमा पनि एउटा नियम बस्छ ।

बच्चाहरूमा नियमित पढ्ने बानीको पनि विकास हुन्छ । यस्ता विषयमा ध्यान पुर्याउनसके बालबालिकाको छुट्टीको समयको सदुपयोग हुनुको साथै उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकासमा सहयोग पुग्छ ।