धरान/ नेपाली लोकगीतलाई पाश्चात्यशैलीमा ढालेर गाउने नेपथ्य ब्याण्डले डेढदशकपछि धरानमा कन्सर्ट गर्ने भएको छ ।

शिक्षाका लागि विभिन्न देशमा कन्सर्ट गरिरहेको नेपथ्य मंसिर ७ गते धरान गर्ने भएको हो । एमसी कफी हाउस र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको विद्यार्थीहरूको संस्था परिक्रमा विद्यार्थी परिवारको संयुक्त आयोजनामा धरानको रङ्गशालामा ‘नेपथ्य लाइभ इन धरान’ कन्सर्ट हुने भएको छ ।

नेपथ्य ब्याण्डबाट सङ्कलित रकमले ‘परिक्रमा रिसर्च फाउण्डेशन’ खोलिने परिक्रमाका अध्यक्ष सागर पन्थीले शुक्रबारको पत्रकार सम्मेलनमा बताए ।

त्यसमा एमविविएस, विडिएस, नर्सिङ र बिएमआइटी अध्ययरत विद्यार्थीहरूले अनुसन्धान गर्न चाहेमा परिक्रमाले भूमिका खेल्ने उनले बताए ।

‘मेडिकल क्षेत्र रिसर्च विना अधुरो छ । अण्डर ग्राजुएट लेभलमा एकदमै गाह्रो छ ।’ उनले भने, ‘त्यसलाई कभर गर्न यो फाउण्डेशनले सहयोग गर्छ ।’

त्यस्तै धरान रन समूहद्वारा सञ्चालित ‘नेवा च्यारिटी एजुकेसन फण्ड’ का लागि पनि केही रकम छुट्याइने आयोजकमध्ये एमसी कफि आवरका सञ्चालक एवम् कार्यक्रम संयोजक पूर्ण राईले बताए ।

‘यो कार्यक्रमको उद्देश्य शिक्षा र स्वास्थ्य क्षेत्रका लागि फण्डराइज गर्ने हो ।’ कन्सर्टको इभेन्ट मेनेजमेन्ट भने नेपथ्य ब्याण्डकै नेपालयले गर्दै छ ।

नेपथ्यमा ६२ जना ‘क्रुमेम्बर’ रहेका छन् । जसको टिकट दर १ हजार रुपैयाँ रहेको छ भने विद्यार्थीहरूको लागि २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

जसका लागि ५ हजार टिकट छापिसकेको राईले बताए । टिकट पनि शुक्रबारै प्रदर्शन गर्दै पहिलो टिकट नारायण राईले खरिद गरेका छन् ।

नेपथ्यले केही समयअघि झापाको दमक र विर्तामोडमा कार्यक्रम सम्पन्न गरेको छ ।

सङ्गीत पारखी नवीन श्रेष्ठले नेपथ्य ब्याण्डको फरक शैलीका कारण पनि रूचाइएको बताए । ‘धरान साङ्गीतिक क्षेत्रमा मात्र नभई स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्रमा ख्याति कमाएको छ ।’

उनले भने, ‘नेपथ्यले छुट्टै स्वाद पस्किएको छ ।’ आयोजकद्वयले अहिले धरानका १० वटा स्कुललाई टिकटको व्यवस्था गरेको छ ।

कार्यक्रममा करिव ५५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।