काठमाण्डौं  / संसदको सार्वजनिक लेखा समितिले चिनीको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न सरकारलाई फेरी निर्देशन दिएको छ । विहीबार बसेको समिति बैठकले उपसमितिको प्रतिवेदनका आधारमा सरकारलाई चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ नै कायम गरी कडाइका साथ लागू गर्न भनेको हो । गत असोज १८ गतेको लेखा समितिको निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाहरुले प्रतिवद्धता जाहेर गरे अनुसार चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ कायम भएको भन्दै समितिले त्यही निर्णयलाईर् कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन गरेको हो ।

लेखा समितिले चाडपर्वको समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गर्ने वातावरण मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । आवश्यक बस तथा माइक्रोबसको व्यवस्था गरेर सबैको यात्रा सहज बनाउन निर्देशन दिएको छ । समितिले हवाइ यातायातलाई समेत सहज र सर्वसुलभ बनाउन भनेको छ । खाद्यलगायत दैनिक उपभोग्य वस्तु सुपथ मुल्यमा उपभोक्ताले प्राप्त गर्ने वातावरण मिलाउन पनि निर्देशन दिएकाे समिति सभापति भरतकुमार शाहले जानकारी दिए । समितिले अस्वभाविक मुल्यवृद्धि नियन्त्रण गर्न पनि ध्यानाकर्षण गराएको छ ।