[caption id="attachment_97124" align="alignnone" width="1024"] प्रतीकात्मक तस्बिर– स्राेत गुगल[/caption]

बेलबारी । मोरङको बेलबारी–२ स्थित नरेन्द्र स्मृति क्लबको आयोजनामा भएको लालभित्ती ढल्केजोवन खसी कप प्रतियोगिताको उपाधि एभरेष्ट भेट्रान भाउन्नेले हात पारेको छ ।

बुधबार भएको फाइनल खेलमा एभरेष्ट भेट्रानले पथरी भेट्रान क्लब पथरीलाई शून्यका विरुद्ध १ गोल गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो ।

विजेयी भाउन्नेले ३० केजीको खसी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष घनश्याम गौतमले पुरस्कार तथा प्रमाण–पत्र वितरण गरेका थिए ।

त्यसैगरी दोस्रो भएको पथरी भेट्रान क्लब पथरीले १५ केजीको खसी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । खेल अवधिभर ५ गोल गर्ने पथरीका संजोग राईले १ क्यारेट अण्डा पाए भने उत्कृष्ट खेलाडी पथरीकै लीलानाथ भारतीले लोकल भाले प्राप्त गरे ।

महान चाड वडादशैंको अवसरमा नरेन्द्र स्मृति युवा क्लब बेलबारी–२ ले आयोजना गरेको प्रतियोगितामा उत्तरी मोरङका ८ वटा भेट्रान टिमहरूको सहभागिता रहेको थियो ।

असोज १६ गते उद्घाटन भएको प्रतियोगिता लालभित्तीको सिंहदेवी हाइटमा सञ्चालन भएको थियो ।