रुससँग एस–४०० मिसाइल सिस्टमबारे डिल– अमेरिकी एक्ट ‘काटसा’ अन्तर्गत कारबाही गर्ने ट्रम्पको चेतावनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन गत हप्ता भारत आएका थिए, त्यहाँ ४० हजार करोड भारुको डिल भएको थियो ।

वाशिङ्टन/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतले रुससँग गरेको डिल (सहमति) ले ऐन उल्लङ्घन भएको बताएका छन् । ट्रम्पले भारतको यो ठूलो गल्ती भएको भन्दै यसको परिणाम भोग्नु पर्ने बताएका छन् ।

बुधबार ट्रम्पले रुससँग एस–४०० मिसाइल डिफेनस सिस्टमको डिल गरेर भारतले ‘अमेरिकाज एडभर्सरिज थ्रु सेंक्शंस एक्ट (काटसा)’ को उल्लङ्घन गरेको बताएका छन् । जसको परिणाम भारतले अवश्य भोग्नुपर्ने बताएका छन् ।

  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन गत हप्ता भारत आएका थिए । यस क्रममा दुवै देशका बीच एस–४०० मिसाइल डिफेन्स सिस्टमको डिल फाइनल भएको थियो । यसै विषयलाई लिएर ट्रम्पले भारतलाई यसको नतिजा चाँडै देखिने बताएका हुन् ।

ट्रम्पले इरानसँग ४ नोभेम्बरपछि तेल आयात जारी राख्ने देशहरूलाई पनि अमेरिकाको रिसको सामना गर्नु पर्ने बताएका थिए । रक्षा विशेषज्ञहरू मिसाइल डिलपछि भारतलाई ‘काटसा’ अन्तर्गत अमेरिकी प्रतिबन्ध हुन सक्ने आशङ्का व्यक्त गरेका थिए ।

अमेरिकामा रहेको ‘फ्रेण्ड्स अफ इण्डिया’ ले भने राष्ट्रपति ट्रम्पले भारतलाई छुट दिन सक्ने आशा व्यक्त गरेको छ । किनभने अमेरिकाले भारतलाई महत्वपूर्ण रक्षा साझेदार मान्ने गरेको छ । ‘काटसा’ अन्तर्गत रुससँग मिसाइल डिल गरेपछि भारतलाई छुट दिने अधिकार मात्र ट्रम्पलाई छ ।

अमेरिकाले हालै ‘काट्सा एक्ट’ को प्रयोग गर्दै चीनको रक्षा कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि भारतीय सञ्चारमाध्यमले स्रोतलाई उल्लेख गर्दै रक्षा मन्त्री जेम्स मेटिस र विदेश मन्त्री मायक पोम्पियोले ‘काटसा’ अन्तर्गत भारतलाई छुट दिन जोड गरेको कुरा उल्लेख गरेका छन् ।

‘काटसा’ ले ट्रम्प प्रशासनलाई आर्थिक र राजनीतिक प्रतिबन्धको माध्यमबाट रुस, इरान र उत्तर कोरियालाई निशाना बनाउने सामथ्र्य प्रदान गर्छ । यसै ऐनअन्तर्गत रुस, इरान र उत्तर कोरियासँग व्यापार, सम्झौता गर्ने देशलाई अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ । – एजेन्सी