फाेटाेः ब्लाष्ट/अनिल श्रेष्ठ

रङ्गेली  । पटक पटकको ताकेता सुनवाइ नभए पछि गत साउन देखि तलब नपाएका काज शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघसहित शिक्षकसम्वद्ध संघसंगठनहरुले सोमबार शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । तलब नपाएका शिक्षकहरुको आइतबार विराटनगरमा बसेको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । विराटनगर महानगरपालिकालाई तलब नपाएको विषयमा ध्यानाकर्षण गरादा सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताए । विराटनगर महानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयमा काजमा कार्यरत १९ जना शिक्षक–शिशिक्षाले तलब सुविधा नपाएको नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदुकुमार खतिवडाले जानकारी दिए । समन्वय इकाईमा तालाबन्दीपछि सोमबारबाटै विराटनगर महानगरपालिकामा धर्नामा बसेका छन् । मंगलबारसम्म पनि तलब निकासा नगरिए बुधबारदेखि अनिश्चितकालिन धर्ना र घेराउ गर्ने घोषणा गरेका छन् । शिक्षकहरुले आपूmहरुलाई खटाइएको विद्यालयमा शिक्षण गरिरहे पनि समन्वय इकाई र महानगरपालिकाले गैरजिम्मेवारपूर्ण तरिकाले तलव निकासा रोकेको उनीहरुले आरोप लगाएका छन् । महानगरपालिकाले समन्वय इकाईबाटै शिक्षक कर्मचारीको अद्यावधिक अभिलेख प्राप्त नभएका कारण तलव माग गर्न नसकिएको जवाफ दिंदै आएको छ । समन्वय इकाईले कार्यरत विद्यालयबाटै तलव भत्ता लगायतका सुविधा पाउने गरी काजमा खटाइएका शिक्षकको विवरण स्थानीय तह र माथिल्लो निकायमा नपठाई विना कारण आलटाल गरिरहेको शिक्षकहरुको आरोप छ ।