धरान / अधिकांश स्थानीय तहमा जनप्रतिनीधिहरुले पहिलो निर्णय आफुलाई सुविधा दिने विषयमा गराएका छन् । कसरी हुन्छ राज्यको सुविधा उपभोग गर्ने भन्ने पहिलो प्राथमितामा हुनछ । जनताको सेवा आफ्नो सुविधा पछि मात्र प्राथमिकतामा पर्छ । हिजोको दिनमा चप्पल लगाएर हिड्ने जनप्रतिनीधिहरुले कतिपय ठाउँमा महगो पजेरो किनेर जनताको नजरमा अलोप्रियसमेत भएका छन् । तर यस्ता पनि जनप्रतिनीधि छन् जो आफ्नो सुविधा ओझेलमा पारेर जनताको सुविधालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दे आएका छन् । सुविधाको गाडी नकिनेर एम्बुलेन्स किन्ने गाउँपालिका प्रमुख

भोजपुरको विकट क्षेत्र आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले भने पहिलो निर्णय गाउँमा एम्बुलेन्स किन्ने गरे । मन्त्रालयदेखि भन्सारसम्म मिलाएर गएको असारमा टाटासुमोको एम्बुलेन्स गाउँमा भित्राएका छन् । उनले आफ्नो सुविधाका लागि भने होण्डा कम्पनिको बाईक किन्न गाउँ परिषद्बाट निर्णय गराए । उनी मुख्य मन्त्रि शेरधन राईको गृह गाउँका अध्यक्ष हुन् । उनी भन्छन् –‘हिजो म कुनै सुविधा भोग गर्दै आएको मान्छे थिईन । त्यसैले अहिलले मलाई कुनै उच्च सुविधाको जरुरत छैन् । एम्बुलेन्स अभावमा गाउँका सुत्केरी महिलाको निकै ज्यान गएको मैले आखाँले देखेको छु । त्यही भएर मेरो पहिलो निर्णय एम्बुलेन्स किन्ने भयो ।’ अन्य गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले सुविधा किन नलिएको भनेर भने तर पहिलो सुविधा जनताले पाउन भन्ने आफ्नो मान्यता रहेको उनी बताउछन् । उनले २०७४/२०७५ को बजेटमा अघिल्लो बर्षको भदौमा एम्बुलेन्स किन्ने भनेर गाउँ परिषद्मा प्रस्ताव लगेका थिए । विभिन्न प्रक्रिया मिलाउदा गत असारमा मात्र एम्बुलेन्स गाउँमा पुगेको छ । सोही परिषदबाट उनले आफ्नो लागि बाईक खरिद गर्न प्रस्ताव गरेका थिए । बाईक भने गत असोजमै खरिद गरे । थोेरै श्रोतलाई सदुपयोग गर्ने उनको नीति अनुसार उनी आफ्नो गाउँपालिका होन्डाका को १ व १४०९ नं.को बाईकमा हिड्छन् । उनको यो निर्णयले व्यथा लागेका सुत्केरी, रोगीहरु शहरमा उपचारका लागि एम्बुलेन्समा जान पाएका छन् । उनले १५ लाखमा एम्बुलेन्स ल्याएका हुन । गाउँपालिकालाई भोजपुर सदरमुकाम, धनकुटा र उदयपुर र खोटाङको राष्टिूय सडक सञ्जालले छोएको छ । तर पनि उनले अझै आफुलाई गाडी किन्ने योजना बनाएका छैनन् । ‘मेरो गाडी किन्ने योजना अझै छैन् । पाँच बर्षसम्ममा यहाँका १८ हजार ७ सय २० जनसंख्याका नागरिकलाई गाडी किन्ने हैसियतको बनाएर मात्र आफु गाडी चढ्छु ।’–गाउँपालिका प्रमुख राईले भने–‘मेरो ध्यान कृषी तथा पर्यटन विकासमा छ ।’ ग्रामिण विकासमा स्नाकोत्तर गरेका राई आफ्नो पढाई अनुसार गाउँको विकासका लागि गुरु योजना नै बनाएर अघि बढेका छन् । तत्कालिन माओवादी केन्द्रबाट अध्यक्षको टिकट पाएका राई जिल्ला सचिवालय सदस्य छन् । राजनीतिमा राम्रो सम्भावना बोकेका राईले गाउँका नागरिकको हितमा महत्वपूर्ण कामहरु गरे पछि निकै लोकप्रिय समेत भएको स्थानीय इश्वारमान कार्की बताउछन् ।

आफ्नो तलव नलिने वडा अध्यक्ष

यता धरान उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष प्रविणकुमार राई(नरेन्द्र(ले सरकारले दिने सेवा सुविधा नै पुरै सामाजिक काममा लगाएका लगाउदै आएका छन् । २०७४ जेठ १४ गतेको स्थानीय तहको निर्वाचनमा नेपाली काङग्रेसका तर्फबाट वडा अध्यक्षको टिकट पाए । टिकट उनका लागि निकै चुनौतीपूर्ण थियो । कम्युनिष्टहरुको गडमा १८ वटा प्रतिबद्धता पत्र बनाएर मैदानमा उत्रिएका थिए । काङग्रेसले अन्य वडामा हार्यो तर उनले चुनाव जिते । वडा नं १८ का स्थानीयहरुलाई बेकारमा जिताइए छ भन्ने पनि उनले महसुस गर्न दिएका छैनन । धरान–१८ रत्न चोकका स्थायीवासी राई नेपालकै उदाहरण जनप्रतिनीधि हुन बनेका छन् । चुनाव जिते पछि नगरकार्यपालिकाले उनको तलव २४ हजार तोक्यो । गत बैशाखसम्म कार्यपालिकाले तोकेको तलव थापे । जेठदेखि प्रदेश सरकारले स्थानीय तहको तलव १९५०० तोक्यो । नगरपालिकाबाट आउने तलव उनले आफुखुशी खर्च गरेका छैनन । वडाका ५ सदस्यसहितको एउटा समिति बनाएर उनको तलव त्यहाँ जम्मा हुने गरेको छ । त्यो कोषबाट गरिव असहाय विपन्न परिवारलाई खर्च गर्दै आएका छन् । तीन जना कुलतमा फसेका युवालाई उनले सुधार गृहमा लान सहयोग गरे । ट्याक्सी चालक उमेश विश्वकर्मा, तेन्जी शेर्पा र विशाल राईलाई सुधार केन्द्रमा राख्न ७७ हजार सहयोग प्रदान गरे । विशाल राई दुर्घटनामा परेर मृत्यु भयो भने उमेश र तेन्जी सुधार गृहमा ४ महिना बसेर सामाजिक जीवन विताईरहेका छन् । ‘मैले प्रतिज्ञा गरेको छु, जनताको सेवा गरेर पाएको पारिश्रमिक व्यक्तिगत काममा खर्च गर्दिन ।’– वडा अध्यक्ष राईले भने– ‘त्यही संकल्प अनुसार एउटा कोष बनाएर समाजिक काममा लगाई रहेको छु ।’ उनले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भोजपुरबाट उपचार गर्न ल्याएको मुटुको समस्या भएका ४ बर्षे बालकको उपचार गर्न २२ हजार गत चैत्र महिनामा प्रदान गरे । यस्तै धरान–१५ स्थित एउटा खुट्टा गुमाएका मिलन विश्वकर्मालाई जिविकोपार्जनका लागि गत जेठ मिहनामा १६ हजार दुई सयमा एउटा सिलाई मिसिन किनिदिए । एचआईभी संक्रमितहरुको संख्था धरान पोजेटिप समुहलाई गत बैशाखमा २० हजार नगद प्रदान गरेका छन् । धरान १८ का २० जना महिलाहरुको लागि ३ महिने व्युटिपार्लर तालिमका लागि ५० हजार सहयोग गरे । गत असारमा क्यान्सरबाट पीडित विशिका श्रेष्ठलाई १९ हजार ५ सय सहयोग प्रदान गरे । विपी प्रतिष्ठान अगाडीको गेट नजिक विश्वकर्मा मन्दिर निर्माणका लागि ५० हजार दिएका छन । अहिले त्यो कोषमा ४२ हजार रकम बाँकी रहेको उनले बताए । उत्पीडनमा परेका व्यक्तिको स्वास्थ्य शिक्षा, खेलकुदलगायत क्षेत्रमा आफ्नो पारिश्रमिक खर्च गरेको उनले बताए । उनले निर्वाचनताका १८ वटा प्रतिवद्धता जनाएका थिए । १८ मध्य १३ वटा एक बर्षको अवधीमै पुरा गरिसकेको सुनाए । १ लाख ४२ हजार लागतमा १८ नं। वडाको विपी गेट, बुद्धचोक र रत्नचोकमा ४ वटा सिसी क्यामेरा जडान गरि दिएका छन । यसको निरिक्षण इलाका प्रहररी कार्यालय धरानले गर्ने गरि उनले व्यक्तिगत लगानीमा जडान गरेका हुन । वडा अध्यक्ष नहुदासमेत सामाजिक काममा क्रियाशिल राई नेपाल तरुण दलको जिल्ला उपसभापति समेत बनिसकेका थिए । पूर्व विट्रिस लाहुरेका छोरा राई वडावासीको पीडामा सक्दो मलहम पट्टी लगाउने प्रयास जारी राख्ने बताए । सरकारी मोटरसाईकल नचढ्ने वडा अध्यक्ष

यता बेलबारी नगरपालिकाका १ जना वडाध्यक्षले भने नगरपालिकाबाट आफूले पाएको मोटरसाइकल सुविधा नलिने घोषणा गरेका छन् । पूर्व शिक्षकसमेत रहेका बेलबारी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष घनश्याम गौतमले आफू जनताको सेवक भएकाले जनताको करबाट उठेको थप सुविधा नलिने घोषणा गरेका छन् । अरु स्थानीय पालिकाका जनप्रतिनिधिहरू कसरी बढी सुविधा लिन सकिन्छ भन्ने चोरबाटोहरु पहिल्याउछन् तर गौतम भने आफूले पाएको सुविधा पनि फिर्ता गरेर सच्चा जनताको सेवकको रुपमा आफुलाई चिनाएका छन् । हामी जनताको काम गर्न भनेर यहाँ आएको जनताको सेवा गर्नेले सुविधाभोगी हुन नहुने उनी बताउछन् । ‘त्यसमा पनि वामपन्थीहरूले त हुँदै हुन्न भन्ने मेरो विचार हो ।’–उनले भने–‘मसँंग आफ्नै पुरानो मोटरसाइकल छँदैछ । एउटा हुँदाहुँदै अर्को नयाँ लिएर किन नगरपालिकाको खर्च बढाउने ।’ चालु आर्थिक वर्षको बजेटमै नगरपालिकाले सवारी साधन शीर्षकमा ७० लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाको रेकर्डमा मोटरसाइकल खरिदमा रु ३६ लाख ५ हजार ५ सय ९९ रुपैयाँ निकासा भएको छ । नगरपालिकाले १ सय ६० सिसी क्षमता रहेका १३ वटा सिबि युनिकन होण्डा मोटरसाइकल र एउटा स्कुटर खरिद गरेर ११ वटै वडाका वडाध्यक्षहरूलाई वितरण गरेकोमा ९ वटा वडाले यस अघि नै मोटरसाइकल लिइसकेका छन । तर वडा नम्बर २ वडाध्यक्षले भने मोटरसाइकल लिएका छैनन ।