दमक/ यो अनौठो संयोग हुनसक्छ, एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा विद्यार्थी पढ्छन् । झापाको लक्ष्मीप्रसाद देवकोटा माविमा संयोगले एकै गाउँका १० जुम्ल्याहा बालबालिका अध्ययनरत छन् ।

झापाको कचनकवल गाउँपालिका वडा नं २ सुकुनाडिकीमा रहेको यो विद्यालयमा १० जोडी जुम्ल्याहा विद्यार्थी छन् ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने बिर्तामोडबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको यो विद्यालय ०२७ सालमा स्थापना भएको हो ।

विद्यालयमा अध्ययनरत गङ्गा र जमुना गौतम अहिले पाँच कक्षामा पढ्छन् । अनुहार, शारिरिक बनावट ठ्याक्कै एउटै छ ।

उनीहरूलाई एक–दुई पटक देखेका र बोलेकाले फेरि देख्दा पहिचान गर्न सक्दैनन् । हरेक दिन आएर कक्षा कोठामा पढाउने र एउटै बेञ्चमा बसेर पढ्ने साथीहरूले समेत अझैसम्म अनुहार हेरेर गङ्गा र जमुना छुट्याउन सक्दैनन् ।

साथी र शिक्षकहरूले समेत यसरी यकिनका साथ छुट्याउन नसकेपछि गत वर्षको परीक्षामा प्रथम भएकी गङ्गा पुरस्कार लिन जाँदा बहिनीलाई पठाइन् ।

दिदीको भन्दा ३ अङ्क कम ल्याएर दोस्रो भएकी जमुनाले दिदी गङ्गाको पुरस्कार थापिन् । बहिनीभन्दा दिदीले अन्य केही विधामा समेत प्रथम भएका कारण अन्य पुरस्कार पाउने भएकाले बहिनीलाई उक्त पुरस्कार लिन भनेको दिदी गङ्गाले बताइन् ।

तर दिदीको पुरस्कार लिन बहिनी मञ्चमा पुग्दा न पुरस्कार दिनेले थाहा पाए न सँगैबस्ने साथीले नै ।

कक्षा–१ मा अध्ययनरत गङ्गा–जमुना मुर्मूमध्ये प्रायः एक जनामात्रै विद्यालय आउँछन् । एक आउँदा अर्कोले घरको काम गर्छन् ।

परिवार विपन्न र आमा पनि नभएकाले उनीहरू पालैपालो विद्यालय आउँछन् । तर कुन दिन को आयो, कुन दिन को आयो शिक्षकले छुट्याउँदैनन् ।

प्रधानाध्यापक हेमलाल आचार्य भन्छन्, ‘विद्यार्थी नआएपछि हिजो किन नआएको भनेर सोध्नु पर्यो, तर कहिले मत आएँ दिदी पो नआएको भन्छन्, कहिले बहिनी पो नआएको भन्छन्, छुट्याउनै गाह्रो ।’

अनुहार नछुट्टिएकै कारण यस्ता संयोग यो विद्यालयमा भइरहन्छन् ।

चिन्ने माध्यम रोल नम्बर सबैभन्दा बढी समस्या त कक्षा–५ मा पर्छ । यही कक्षामा ३ जोडी जुम्ल्याहा अध्ययनरत छन् । लुगा, बोली, बानी, उचाई, वर्ण सबै उस्तै भएपछि साथी र शिक्षकले छुट्याउन सक्दैनन् ।

त्यसैले उनीहरूलाई छुट्याउने आधार भनेकै रोल नम्बर हो । शिक्षक मेघनाथ दाहाल भन्छन्– ‘जति गरे पनि झुक्किहालिन्छ, त्यसैले जुम्ल्याहालाई चाहिँ नाम होइन, रोल नम्बरका आधारमा बोलाइन्छ ।’

कक्षा–५ पढ्ने गङ्गाको ४८ र जमुना गौतमको ४९ हो रोल नम्बर ।

यस्तै लक्ष्मीको ३ र पूजा गणेशको १ अनि भिष्मको २२ र भीम सुवेदीको २४ रोल नम्बर हो ।

यही रोल नम्बरले मात्र उनीहरू छुट्टिन्छन्, नत्र एक व्यक्तिका दुई आकृतिजस्तो लाग्छ सबैलाई ।

जुम्ल्याहाको जमघट यस विद्यालयले जुम्ल्याहा सन्तान विद्यालय भर्ना गराउनकै लागि कुनै योजना चलाएको भने होइन । संयोगले यहाँ १० जोडी जुम्ल्याहाको जमघट भएको बताउँछन्, विद्यालयका प्राथमिक तहका प्रमुख शिक्षक शेरबहादुर थापा ।

‘कहाँ कसको घरमा जुम्ल्याहा छन् हामीलाई थाहा हुने कुरा त भएन’ उनले भने–‘तर फाट्टफुट्ट आउँदा आउँदै अहिले त १० जोडी पो भइसके ।’

१० जोडी जुम्ल्याहा मध्ये ५ जोडी छात्रा छन् ।  ५ जोडीमध्ये ४ जोडीको नाम गङ्गा–जमुना छ । एक जोडी लक्ष्मी–पूजा छन् । छात्र भने ४ जोडी छन् । छात्रहरूको नाममा भने विविधता छ ।

यस्तै एक जोडी विद्यार्थी दिदी–भाइ छन् ।

धेरै समानता, केही फरकपना जुम्ल्याहामध्ये धेरै जोडीमा समानता पाइन्छ । तर केहीमा भने फरकपना पनि छ । ३ वर्षका छोरी गङ्गा–जमुनाकी आमा कल्पना भन्छिन्– ‘गङ्गा अलिक चञ्चले छ, जिद्धि स्वभावको पनि छ, जमुना ज्ञानी छ ।’ एलकेजीमा पढ्ने युजन र नुजनमध्ये पनि भाइ निक्कै चञ्चले छन् तर दाजु गम्भीर स्वभावका ।

शिक्षिका लक्ष्मी भण्डारी भन्छिन्– ‘धेरैजसो जुम्ल्याएका स्वभाव मिल्छन् तर केही–केही स्वभाव भने फरक पनि पाइएको छ ।’

०५७ साल असोज २५ गते ५ मिनेटको फरकमा जन्मिएका गङ्गा–जमुना श्रेष्ठको भने स्वभाव र रुची मात्रै होइन स्वास्थ्य अवस्थामा मिल्छ ।

‘मलाई रुघामर्की लाग्यो भने उसलाई पनि लागि हाल्छ,’ गङ्गाले भनिन्– ‘कहिले मलाई निको हुने बित्तिकै उसलाई शुरू हुन्छ, कहिले ऊ ठीक भएपछि म बिरामी हुन्छु , तर प्रायः सँग–सँगै बिरामी हुन्छौँ ।’ समान उमेरका भए पनि पढाइमा धेरैजसो एउटै कक्षामा छन् ।

तर केही फरक–फरक पनि कक्षामा पढिरहेका छन् ।

०६० जेठ–७ गते जन्मिएका गायत्रा–गङ्गासागर खड्का मध्ये २ मिनेटले गायत्रा दिदी हुन् । तर अध्ययनमा भने भाइ भन्दा २ कक्षा माथि छिन् दिदी ।

‘दिदीले शिशु कक्षा नपढी एक कक्षा पढ्नु भयो, अनि म चाँहि शिशुदेखि नै पढेँ र कक्षा ३ मा फेल पनि भएँ त्यसैले २ कक्षा पछि परेको हुँ’– गङ्गासागरले भने । उनीहरूको रूचीमा पनि फरकपना छ ।

गारयत्राले भनिन्– ‘अरु त त्यस्तो खासै फरक छैन तर भाइलाई गुलाबी रङ्गको कपडा मन पर्छ, मलाई चाहिँ सेतो मन पर्छ ।’

०६० मङ्सिर १३ गते जन्मिएका प्रेमलाल र प्रेमप्रसाद राजवंशी मध्ये १ मिनेटपछि जन्मिएका प्रेमप्रसादले प्रेमलाललाई १ कक्षा उछिनेका छन् ।

प्रेमलाल कक्षा ८ र भाइ प्रेमप्रसाद कक्षा ९ मा अध्ययरत् छन् । उनीहरूमा लुगा रोजाइमा भने फरक छ । दाजुले रातो मनपराउँछन्, भाइले चाँहि पहेलो छान्ने गरेका छन् ।

पढाइमा पनि जुम्ल्याहरुको स्तर फरक–फरक छ । कुनै जोडीका जेठो सन्तान तगडा छन् भने कुनै मध्ये कान्छो तेजिला छन् ।

कक्षा ३ मा पढ्ने गौरव र गगन खतिवडा मध्ये गौरव अलिक तगडा लाग्छन् शिक्षक जीवन भट्टराईलाई । अन्य कुरामा समान भए पनि विभिन्न विषयमा जिज्ञासा राखिरहन्छन गौरव तर गगन अलिक मौन बस्ने गरेका छन् ।

आमाको अनुभव अरू जति नै झुक्किए पनि वा ३ वर्षीया गङ्गा–जमुनालाई कुन दिदी–कुन बहिनी भनेर नछुट्याए पनि आमा कल्पना राजवंशी भने आजसम्म झुक्किएकी छैनन् ।

हेर्दा, बोल्दा दुरुस्तै लाग्छ अरुलाई तर उनी भने सजिलै छुट्याउँछिन् ।

विद्यालयमा आएर दुवै छोरीलाई काखमा लिएकी उनले भनिन्– ‘अलिअलि हिँडाई नभए बोलीले गर्दा म चिन्छु, तर अरूलाई पनि चिन्ने गरी फरक के–के छ चाहिँ भन्न सक्दिनँ, म बुझ्छु मात्र ।’

०७२ भदौ २४ गते उनीहरू दुवै जना एक मिनेटको फरकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जन्मिएका हुन् ।

दुवै छोरी जन्मने बेलामा श्रीमान् कुवेत पुगेका थिए । अझै उतै छन् । उनले अझैसम्म छोरीहरूलाई देखेका छैनन् । विभिन्न माध्यमबाट कुराकानी हुने र फोटो हेर्ने क्रम चाहिँ चलि रहेको छ ।

उनको पहिलो गर्भबाटै जुम्ल्याहा छोरी जन्मिए ।

निरन्तरको स्वास्थ्य जाँचका क्रममा जुम्ल्याए भन्ने थाहा भएपछि उनी भद्रपुरदेखि धरान पुगेकी थिइन् ।

सरीता खड्काका जेठा छोरा भीम भने ०५८ सालमा जन्मिएका थिए । दोस्रो गर्भबाट ०६० जेठ ७ मा गायत्रा र गङ्गासागर छोराछोरी जुम्ल्याहा भए ।

तर उनलाई गर्भमा भइञ्जेल जुम्ल्याहा सन्तान छन् भन्ने अनुभूति नै भएन । ‘भिडीयो सिडियो गरिएन, पेटचाँहि अलिक ठूलै थियो तर दुईटा नानी होलाजस्तो चाहिँ लागेन,’ जुम्ल्याहा दिदी भाइकी आमा सरीताले भनिन्– ‘एउटा नानी चाहिँ बढी खेल्दो रहेछ, अर्को चाहिँ त्यति खेलेन क्यार त्यही भएर जुम्ल्याहा होलान्जस्तै लागेन ।’

उनले दुवै सन्तान घरैमा जन्माएकी हुन् ।