धनकुटा/प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालय र शिक्षा विकास निर्देशनालयको बिहीबार धनकुटामा उद्घाटन गरेका छन् ।

प्रदेशस्तरीय स्वास्थ्य तथा शिक्षा निर्देशनालयको धनकुटामा उद्घाटन गर्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पहिलो पटक प्रदेश सरकारको २ वटा उपहार धनकुटाले पाएको बताए ।

राईले प्रदेश सरकारको संसद्मा लामो छलफल र बहसबिना नै २ मिनेटको निर्णयले बिना विवाद २ वटा महत्वपूर्ण निर्देशनालय धनकुटामा राख्ने सहमती भएको बताए । २ वटा मन्त्रालयमा धनकुटावासीले चित्त बुझाउनु आँट्यो भन्ने नठान्न भन्दै मुख्यमन्त्री राईले भने ‘अझै धेरै चिज धनकुटाले पाउँछ, एकपछि अर्को निर्णय धनकुटाको लागि हुन्छ ।’

सो अवसरमा बोल्दै मुख्यमन्त्री राईले नयाँ संविधान कार्यान्वयन गर्ने सिलसिलामा राजनीतिक र प्रशासनिक संरचनाहरूको स्थापना गर्ने सन्दर्भमा पहिलो प्रयास धनकुटाबाट प्रदेश सरकारले थालेको स्पष्ट पारे ।

मुख्यमन्त्री राईले थपे ‘हामीले सिंहदरवारको अधिकार घर–घरमा भनेका छौं, हिमाल, पहाड र तराईलाई जोड्न प्रदेश सरकार सङ्घीयताको कार्यान्वयनमा लागिपरिहेको छ ।’

मुख्यमन्त्री राईले विशेष गरेर धनकुटेलीहरूको विगतको २ महिना लामो धनकुटा राजधानी अभियानको आन्दोलनलाई स्मरण गराउँदै भने ‘अब हिजोको धनकुटा होइन, नयाँ संरचनामा नयाँ धनकुटाको सपना देख्न आग्रह गर्छु नयाँ संकल्पको साथ जुट्नुहोस् ।’

उनले धनकुटाको वातवरण, हावापानी र भौतिक संरचना राम्रो भएकाले प्रदेश सरकारले ५ सय बेडको प्रादेशिक अस्पताल धनकुटामा बनाउने योजना अघि सारेको स्पष्ट पारेका छन् । साथै उनले प्रदेश नं.१ को १४ वटै जिल्लामा सेवा प्रदान गर्ने गरी स्वास्थ्य र शिक्षा विकास निर्देशनालय स्थापना गरिएको बताए ।

मुख्यमन्त्री राईले अबको १५ दिनभित्रमा प्रदेश अन्तर्गतका १४ वटै जिल्लामा जिल्ला तहदेखि निर्वाचन क्षेत्रसम्मका सम्पूर्ण संरचना स्थापना गरिसक्ने बताए । सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारको अङ्ग प्रदेश मन्त्रालयबाट बाहिर निस्किएको बताए ।

उनले अब सामाजिक विकास मन्त्रालयले दिने १ नम्बर प्रदेश भरिको १४ जिल्लाको सेवा प्रवाह धनकुटाबाट हुने बताए । घिमिरेले प्रदेशको १४ वटै जिल्लामा प्रदेश अन्तर्गतका विषयगत कार्यलय राख्ने प्रयास भइरहेको बताए ।

मन्त्री घिमिरेले नयाँ कानून निर्माणका लागि २२ वटा विधेयक सदनबाट पास भइसकेको बताए ।

उनले तत्काल हत्या, हिंसा, बलात्कार सम्बन्धी विधेयक र खेलकुद सम्बन्धी विधेयक पास गर्ने तयारीमा प्रदेश सरकार रहेको बताए । उनले दशैंपछि बजेट कार्यक्रमको साथ प्रदेश सरकार अघि बढ्ने स्पष्ट पारे