पथरीशनिश्चरे/झापाको दमक नगरपालिकाका दुईवटा वडामा वितरित खानेपानीमा तीन दिन देखि आइरनयुक्त लेदो पानी वितरण हुँदैआएको छ ।

दमक ८ र ९ का उपभोक्ताहरुको धारामा लेदो पानी वितरण भइरहेको दमक–९ का उपभोक्ता टंक ढकालले जनाए । उनले स्वच्छ पानी वितरणमा लापरवाही भएको भन्दै उपभोक्ताहरुले आक्रोस पोखेको सुनाए ।

खानेपानी उपभोक्ता समितिका कार्यालय प्रमुख कृष्ण थापाले खानेपानीको ट्यांकीमा जडित भल्वको मेकानिकल समस्याका कारण स्वच्छ पानी वितरण गर्न कठिनाई भएको उल्लेख गरेका छन् । फिल्टर हुदै ट्यांकीमा जाने पानीमा भल्वका समस्याका कारण लेदो देखिएको उनले बताए ।

थापाले दुई दिनदेखि बिग्रीएको संरचना मर्मतको काम भइरहेकाले तत्काल खानेपानीमा सुधार आउने बताए । उनले सोमबार साँझदेखि आएको यस्तो समस्या बिस्तारै हट्ने जनाए । ट्यांकीमा जम्मा भएको पानी धारा मार्फत जाने हुदाँ अझैं दुई, तीन दिनसम्ममा पानीमा सामान्य त्यस्तो समस्या फेरि पनि देखिन सक्ने इन्जिनियर समेत रहेका उनले प्रष्ट्याए ।

उनले पानी केही समस्या भएपनि पिउनै नहुनेखालको समस्या नभएका दावी गरे ।

दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दोश्रो साना सहरी खानेपानी आयोजनाबाट निर्मित पानीटंयाकीमा ‘मेकानिकल’ समस्या आएपछि स्वच्छ पानी वितरण प्रभावित भएको हो ।

८ र ९ का उपभोक्ताहरुको अधिकांश धारामा स्वच्छ पानी वितरण हुन सकेको छैंन् । ती वडामा दमक–९ स्थित शान्तिमार्गको ट्यांकीबाट पानी वितरण हुदैआएको छ ।

२०७२ सालदेखि सञ्चालनमा आएको सो आयोजनाले त्यस ट्यांकीमार्फत पूर्वपश्चिम मुख्य सडक दक्षिणका ८ र ९ नम्बर वडाका २ हजार २ सय उपभोक्तालाई खानेपानी उपलब्ध गराउदैआएको छ ।