भद्रपुर/भद्रपुर नगरमा हुन लागेको मिनी म्याराथुन ‘भद्रपुर दौडमा’ अनुमानित एक हजार जनाले भागलिने भएका छन् । पछिल्लो समय समाजमा देखिएको अपराधिक कृयाकलापलाइ न्यूनिकरण गर्ने उद्देश्यले विभिन्न नारासहित भद्रपुर वडा कार्यालय ८ को आयोजनामा हुने दौड प्रतियोगितामा उनिहरुले भाग लिने भएका हुन् ।

हिन्दूहरुको महान चाड बडा दशैको अवसर पारेर वडा कार्यालयले पहिलो पटक यस्तो कार्यक्रमको शुरुवात गर्न लागेको हो । कार्यालयले मङ्गलबार अपरान्ह आयोजना गरेको पत्रकारसहितको भेलामा यस्तो जानकारी गराएको हो । कार्यक्रम सम्पन्न गर्नका लागि १ सय १३ जनको मूल आयोजक समिति समेत गठन गरी कार्यक्रम सार्वजनिक गरेको छ ।

असोज २८ गते भद्रपुर ८ सगरमाथा चोकमा भेला भएर स्थानीय ९४ वर्षिय केशव सिं रार्इको हातबाट सयवटा बैलुन उढाएर कार्यक्रमको शुरुवात गरिने वडा अध्यक्ष गौरब सुब्बाले बताए ।

कार्यक्रम सम्पन्नका लागि भद्रपुर नगरका दशवटा वडा कार्यालयबाट २०/२० जना र विद्यालयबाट २/२ जना खेलाडी माग गरिएको वडाध्यक्ष सुब्बाले जनाए । बहालवाला कर्मचारी र सुरक्षाकर्मीले भने भाग लिन पाउने छैनन् । कार्यक्रममा महिला र पुरुष सहभागि भएर सगरमाथा चोक , क्याम्पस मोड,किराँत कोलनी, एसपी मोडसम्म सगै हुनेछन् ।

त्यसपछि वाणिज्य बैङ्कको सडक हुदै पुनः सगरमाथा चोकसम्म ३ किलोमिटर महिलाले दौडिने उनले बताए ।

त्यसैगरी पुरुष खेलाडी भने चन्द्रगढी एयरपोर्ट,भद्रशिवा मन्दीर, मेची अञ्चल अस्पताल हुदै सङ्गम चोकबाट पुनः सगरमाथा चोकसम्म ६ दशमलव ७ किलोमिटर दौडिने तालिका रहेको छ । कार्यक्रममा भाग लिन भद्रपुर नगरपालिकामा बसोबास गरी सम्बन्धित वडा र स्कुलले दिएको सिफारिसका आधारमा सहभागी हुन पाउने छन् ।

असोज २० गतेसम्म आइपुगेका सिफारिसको आधारमा सहभागी हुने खेलाडीलाइ विभिन्न दाताले उपलब्ध गराएको नारासहित लेखिएको भेष्ट लगाएर दौडमा भागलिन पाउने नियम रहेको जनाइएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाइ क्रमस २१ हजार, १५ हजार र १० हजार पुरस्कार पाउने छन् ।

पुरस्कालाइ दिपेश ढकाल, टिकाराज ढकाल,भक्ती अधिकारी,यूकेबाट नेत्र चेम्जुङ्, रन टेवल र मेघा सिमेन्टले उपलब्ध गराउने भएका छन् ।

त्यसैगरी कार्यक्रममा सगरमाथा आरोही अनिष लुइटेल,बक्सिङ् खेलाडी सुरेन्द्र राइ र प्रशिक्षक डम्बर लिम्बुलाइ जनही ५ हजार नगदले पुरस्कृत गरिने भएको छ । पुरस्कार वडाअध्यक्षका स्वर्गीय पिता बिरहाङ् लिम्बूको सम्झना र उनका परिवारले उपलब्ध गराउने भएका छन् ।

कार्यक्रम सम्पन्नका लागि यूकेबाट शान्ती चेम्जुङ्ले १० हजार,कृष्ण मैनाली ६ हजार,नितेश बर्मा ६ हजार,राधिका राइ ३ हजार र जगत वाग्लेबाट ५ हजार नगद सहयोग गरेका छन् ।

खेलाडीका लागि रोटरी क्लब अफ भद्रपुरले ५ सय , मुना चियाबाट २ सय , जुनतारा कन्ट्रक्सन एण्ड इन्जीनियरिङ् विल्र्डसले डेढसय थान भेष्ट र विनोद बस्नेतले साढे १८ हजार मूल्य बराबरको चेष्ट नम्बर सहयोग गर्ने भएका छन् । भेष्टमा बलात्कारजन्य घटनाको चौतर्फी बृद्धि बन्दैन समाज , आउदैन समृद्धि,विद्यालयलाइ शान्ती क्षेत्र बनाऔँ,बालमैत्री समाजको निर्माण गराऔँ लगायतका नारा लेखिएकोले जनमानसले जानकारी पाउने उद्देश्य लिएर कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुब्बाको भनार्इ छ ।

दौड अवधिभर विभिन्न सङ्घ संस्थाले व्यानरसहित चोक चोकमा स्वागत गर्ने कार्यक्रम तय भएको उनले जनाए । तीन लाख भन्दामाथि खर्च हुने अनुमान गरिएपनि वडाको बजेट भने यथावत राखिने उनले बताए ।

वडा कार्यालयले प्रत्येक वर्ष नवरात्रको पञ्चमीको दिनमा दौड प्रतियोगिता गराउने निर्णय समेत गरेको वडा सचिव नेत्र प्रसाद पोखरेलल जनाए ।