पाँचथर । अति खुख्खाग्रष्त क्षेत्र दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिका–१, आहालेमा रहेको सरस्वती आधारभूत विद्यालयले खानेपानी बोक्ने कर्मचारी राखेको छ ।

खानेपानी अभावकै कारण विद्यार्थी कक्षा छोड्दै घर फर्किन थालेपछि खानेपानी कोक्ने कर्मचारी राखेको विद्यालयका प्रधानाध्यापक तिलक दाहालले बताए । विद्यालयमा खानेपानी समस्याले गर्दा विद्यार्थी नियमित नआउने र आएका विद्यार्थी पनि बीचैमा कक्षा छाडेर फर्किन थालेपछि प्रत्येक दिन दुई गाग्रो पानी बोक्ने गरी मासिक तीन हजार रुपैंयाँ तलबमा कर्मचारी राखेको प्रधानाध्यापक दाहालले बताए ।

दुई घन्टाको उकालो–ओरालो बाटो हिंडेर खानेपानी ल्याउँनुपर्ने हुनाले दिनमा दुई गाग्रो मात्र ल्याउन सकिने दाहालको भनाई छ । उक्त पानीले विद्यार्थीलाई दिनभर धान्न गाह्रो भएको विद्यालयले जनाएको छ । ४० सामुदायिक विद्यालय रहेको गाउँपालिकाका अधिकांश विद्यालयमा खानेपानीको समस्या छ । सो समस्यालाई मध्यनजर गरी गाउँपालिकाले विशेष प्याकेज ल्याउने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।