विराटनगर/ बजारमा कालोबजारीको भएको खबर सञ्चारमाध्यमले सार्वजानिक गर्दा समेत चुपचाप रहने संयुक्त जिल्ला अनुगमन समितले चाडवाडमा अनुगमनको कामलाई तिव्रता दिँदै आएको छ ।

दशैँ, दीपावलीजस्ता पर्वहरू नजिक आएसँगै अहिले संयुक्त जिल्ला अनुगमन समितले वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा विराटनगर महानगरपालिका क्षेत्रमा रहेका किरानाको थोक पसलदेखि डिपार्टमेन्टल स्टोरहरूमा अनुगमन थालेको छ ।

आइतबार विराटनगरका एक दर्जन बढी पसलमा अनुगमन गरेको वाणिज्य कार्यालय विराटनगरका प्रमुख कुमार दाहालले जानकारी दिए । अनुगमनको क्रममा धेरै पसलले मूल्य–सूची नराखेको पाइएको उनले बताए । ‘उपभोक्तालाई जानकारीको लागि व्यापारीले अनिवार्य मूल्य सूची राखेको हुनुपर्छ,’ उनले भने,

‘मूल्य–सूची नराखेको पसललाई सूची राख्न निर्देशन दिएका छौं, एक साताभित्र नराखे कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।’ उनले भने । अनुगमनको क्रममा विराटनगर–२ स्थित भगवत् किराना पसलमा भारतमा उत्पादन भएको ‘दावत तेल’ ठूलो परिमाणमा फेला परेको थियो । भन्सार छलेर ल्याएको तेल भएकाले भारतीय तेल बिक्री वितरण गर्न रोक लगाइएको छ ।

यस अघि विराटनगरको गुद्री बजारमा व्यापारीले कृषकबाट सस्तोमा तरकारी खरिद गरी उपभोक्तालाई ७ गुणा बढी मुनाफा राखी बिक्री गर्दासमेत संयुक्त जिल्ला अनुगमन समिति चुपचाप थियो ।

गुद्रीका थोक बिक्रेताले कृषकसँग २ रुपैयाँ प्रतिकिलो घिँरौला खरिद गरी खुद्रा व्यापारीलाई ५ रुपैयाँ प्रतिकिलो बिक्री गर्थे । तर खुद्रा व्यापारीले उपभोक्तालाई २० देखि २५ रुपैयाँ प्रतिकिलोसम्म बिक्री गर्दै आएका थिए ।

चाडर्पवमा मात्र किन बजार अनुगमन गर्नुहुन्छ ? सञ्चारकर्मीको प्रश्नमा वाणिज्य कार्यालय विराटनगरका प्रमुख कुमार दाहालले जनशक्ति अभावको कारण देखाए । उनले पहिलेजस्तो अहिले नियमित बजार अनुगमन गर्न नसकेको बताए । ‘अहिले पनि बजार अनुगमनको भइरहेको छ,’ उनले भने, ‘चाडपर्वको मौका छोपी व्यापारीले अलिक बढी कालोबजारी गर्ने भएकाले अनुगमनलाई तिव्रता दिइएको हो ।’

दाहालले तरकारीको विषयमा भने कृषकले व्यापारीलाई बिक्री गरेको बिल नहुँदा अनुगमनमा समस्या भएको प्रतिक्रिया दिए । उपभोक्तासँग सरोकार राख्ने पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुङ्गेलले चाडपर्वमा मात्र होइन बजार नियमित रूपमा अनुगन हुनुपर्ने बताए ।

उपभोक्तलाई गुणस्तर र ठगिनबाट जोगिन सम्बन्धित नियकाले नियमित बजार अनुगमन गर्नुपर्ने बताए ।