पथरीशनिश्चरे/ कसैले आफ्नो भरभरको सम्पत्ती सबै दान गरेर आफु खान लाउनकै समस्या भएर विजोग अवस्थामा बस्न सक्ला ? तर मोरङको पथरीशनिश्चरे ५ हसन्दह सुगाहाटमा यस्तै दृष्य देखिएको छ ।

उमेरले ८३ वर्षको बसिखाने अवस्था । तर बसेर खानु त कहाँ हो कहाँ २ छाक खान पनि अरुको दानको आशा गर्नुपर्छ । पहिले जग्गा जमिनका महाजन थिए लक्ष्मीप्रसाद बास्तोला ।

हसन्दमा ४४ विगाहा जमिन थियो । २२ वर्ष अघिको कुरा हो । पारिवारिक जीवनदेखि बैराग भएर उनले छोराछोरीलाई उनीहरुको भाग जग्गा छुट्याइदिए ।

अनि आफ्नो भागमा परेको ३ विगाहा जग्गामध्ये डेढ विगाहा जग्गा बेचेर सिद्धेश्वर शिवालय मन्दिर बनाए र बाँकी डेढ विगाहा जग्गा त्यही मन्दिरलाई दान गरे । त्यसयता उनले आफ्नो नाम पूर्णानन्द बाबा सरस्वती राखे ।

अहिलेको मुल्यमा हो भनें उनले दान दिएको जग्गा १० लाख कठ्ठा पर्छ । त्यसको कुल हिसाब गर्दा ६ करोडको जग्गा हुन्छ । ‘दान गरेकोमा त पछुतो छैन, तर विहान बेलुका खाने समस्या छ । ढाडको दुख्ने गरेकाले उठेर हिँड्न पनि सक्दिन । भौतिक शरीरलाई चाँही निकै कष्ट भइरहेको छ ।’– उनले ब्लाष्टसँगको कुराकानीका क्रममा आँशु झार्दै भने ।

उनले आफुले भरभरको सम्पत्ती दान दिएर सन्यास भएको भन्दै आफन्तले पनि फर्केर समेत नहेरेको दुखेसो पोखे । ‘मेरो हालत यस्तो छ, मन्दिर पनि जीर्ण बनेको छ । यसमा स्थानीयले चासो दिएनन् ।’– उनले गुनासो गरे । उनलाई उपचारकाे र ०७२ सालको भूकम्पले जीर्ण बनेको मन्दिरको जिर्णाेद्धारको आवश्यकता छ ।

उनीसँग रहेको २ कठ्ठा जग्गा नगरपालिका अन्तर्गतको खोपकेन्द्रलाई केही महिनाअघि दान दिएपछि उनीसँग केही पनि सम्पत्ती बाँकी छैन । ०५९ सालमा उनले मन्दिर दर्ता गराए ल्याएपछि त्यो बेलाको ५५ लाखमा मन्दिर, आश्रम निर्माण गरे ।

परिवारको संख्या र उनीहरुको अवस्था उनले उल्लेख गर्न मानेनन् । आफुले शारिरिक रुपमा जति नै दुःख पाएपछि मनलाई भनें भगवानमा समर्पित गरेकाले दुःख नलागेको भनिरहँदा उनका आँखाबाट आँशुका धारा रोकिएका थिएनन् ।

‘एकजनाले केही चामल ल्याएर दिन्छन् । दान गरेको जग्गाको धान, धामल खाने कुरा भएन । पुराणमा दान आएको समेत खानु हुँदैन भनेर खाएको छैन ।’– उनले आफ्नैखाले तर्क पेश गरे ।

पहिले सकुन्जेल उनले नै मन्दिरमा पूजाआजा गर्थे । तर अब पूजा गर्न नसक्ने अवस्थामा पुगेपछि मन्दिरमा पूजारी समेत छैन । आफ्नो शरीरले दुःख पाउनु भन्दा पनि मन्दिरका देवतालाई पूजाआजा गर्न नपाएर देउता भोका भए भन्ने चाँही आफुलाई बढी चिन्ता लागेको सुनाए ।

उनी भन्छन् ‘मैले लोभमोह त्यागेर दान गरेर धर्म र नैतिकताको ठूलो सन्देश दिन खोजेपनि मानिसहरुले त्यसको महत्व बुझ्न सकेनन् ।’– उनी भन्छन् । मन्दिरको जिर्णाेद्धार गरी त्यसलाई व्यवस्थित सञ्चालन गर्न सम्बन्धित पक्षसँग उनको आव्हान छ ।