तीन महिना अघिसम्म भोजपुरको चुवारा र धनकुटाको सिम्लेसम्म पुग्ने जेट बोटले प्रतिव्यक्ति ४ सय रुपैयाँ भाडा लिँदै आएको थियो । हाल इन्धनको मूल्यमा आएको वृद्धि र स्थानीय तहलाई बुझाउनु पर्ने कर अत्यधिक भएको भन्दै प्रतिव्यक्ति भाडादरमा ५० रुपैयाँ वृद्धि गरिएको वराहक्षेत्र जलयातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष सन्तोष भण्डारीले बताए ।

अब यात्रुले जेटबोटको अन्तिम गन्तव्यसम्म पुगेको भाडा प्रतिव्यक्ति ४ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । प्रालिका अध्यक्ष भण्डारीका अनुसार दशैंको टिकाका दिन बिहानदेखि १२ बजेसम्म सेवा बन्द हुने छ । १२ बजेपछि पुनः बोट सञ्चालन गरिने छ ।

सोमबार परीक्षण गरिएको जेटबोट मङ्गलबारदेखि नियमित सञ्चालन हुनेछ । बिहान ६ बजेदेखि राति ८ बजेसम्म जेटबोटले सेवा दिन सक्ने भण्डारीले बताए । बोटमा दुई वटा ठूला हेडलाइट राखिने भएकाले रातको समयमा पनि कुनै समस्या नहुने भण्डारीको भनार्इ छ ।