तेह्रथुम/काधमा झोला बोकेर जय गोरखनाथ भन्दै म्याङलुङ्ग बजारका प्रत्येक घर–घरमा भेटिन्छन्, फेदाप गाउँपालिका–२ ओयाक्जुङ्गका १४ वर्षिय भानुभक्त जोगी ।

कक्षा तीन सम्म पढेका भानुभक्त बुबा देवरानाराय जोगीसँगै फेरी लगाउन शहर बजार र गाउँगाउँमा घुम्ने गर्दछन् । विद्यालय गएर किताव पढ्नु भन्दा पनि उनलाई बुबासँगै शहर बजार घुमेर जय गोरखनाथ भन्दै पैसा चामल बटुल्न जाँगर चल्न थालेको छ ।

उनी पहिले पनि नियमित विद्यालय जादैनथे । ‘विद्यालय गयो भने घरमा विहान बेलुका खान पुग्दैन,’ उनले भने । बुबासँगै फेरी लगाउन गयो भने खान पनि पाईने दुई चार पैसा पनि कमाईने उनेले भने । ‘अहिले विद्यालय जान मन लाग्दैन यो कामनै ठिक छ, पिता पुर्खाको विडो त कसैले न कसैले थाम्नै परोनी ।’ उनले भने ।

नेपालको संविधानमा सबैलाई निःशुल्क आधारभुत र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य र पोषण पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो ।  जिल्लामा शिक्षा विकास तथा समन्वयन ईकाई तेह्रथुमले बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने र विद्यालय बाहिर सो उमेर समूहका बालबालिका भर्ना अभियान जिल्लाव्यापी सञ्चालन गरेको थियो ।

तर, जोगी समूदायका अधिकाँश बालबालिका निःशुल्क आधारभुत शिक्षाको पहुँचमा छैनन् । यहाँका युवाहरु वर्षमा ६ महिना ‘फेरी’ लगाउन गाउँ बाहिर नै हुन्छन् । गाउँमा मेला, पर्म, घाँस, दाउरासँगै गाउँलाई बिकास निमार्णको कार्यमा महिलाहरु नै खट्ने गरेका छन् । आर्थीक रुपमा बिपन्न रहेका यहाँका बालबालिकाहरु खर्च जुटाएर ल्याउने अनी चाडपर्ब मनाउने गर्छन् । जोगी समुदायले ‘फेरी’ लगाए बापत पाएको अन्न चामलले गर्जो टार्दै आएको स्थानीय निसा जोगीले बताईन् ।

यसै गरि कक्षा ८ सम्म अध्ययन गरेर योगेन जोगी पनि बुबा लोक बहादुर जोगीसँग फेरी लगाउन भारतको सिक्मिम, दार्जिलिङ्ग तिर धाउन थाले । आफुलाई पढ्न भन्दा फेरी लगाउदै शहर बजार घुम्न रमाईलो लाग्न थालेको बताउछन् । ‘बुबासँग फेरी लगाउन जाँदा मिठो मसिनो खान पनि पाईने, देश विदेश पनि घुम्न पाईने पढेर के गर्नु र आजभोली जागिर पाँईदैन’ योगेन जोगीले दुखेसो पोखे ।

छोरा छोरीलाई पढाउनु भन्दा आफुसँग लागो भने दुई चार पौसा कमिने भएकाले आफैसँग लानथालेको अभिभावकहरु बताउछन् । जोगी गाउँमानै सिद्धकाली माध्यमिक विद्यालय छ । तर, जोगी समुदायका दुई दर्जन बालबालिका शिक्षा प्राप्त गर्नबाट वञ्चित छन् ।

जोगी समुदायका बालबालिका भर्ना भए पनि निरन्तर विद्यालय जादैनन् । सिद्धकाली मावि, पाथिभरा आधारभुत र जनता आधार भुत विद्यालय जोगी बस्तीमानै पर्दछन् । तर, यहाँका बालबालिका विद्यालय होईन, बुबा, दाजु, काकासँग फेरी लगाउन शहर बजारमा भेटिन्छन् ।

उनिहरु जिल्लाको म्याङलुङदेखि लिएर धरान, धनकुटा, ईटहरी, विराटनगर, दमक, विर्तामोटका बजारहरुमा फेरी लगाँउदै आएका छन् । पाथीभरा आधारभुत विद्यालयका प्रधानाध्यापक तुलसी प्रसाद दाहालले जोगी समुदायका बालबालिकाहरुलाई विद्यालयमा कपी, पेन्सिल देखि लिएर प्रत्येक दिन खाजा दिने व्यवस्था मिलाएको र पनि उनिहरु विद्यालयमा नियमित नआएको बताउछन् । भर्ना भएका समेत कहिलेकाही मात्र विद्यालय पुग्ने गरेको प्रअ दाहाले बताए । १ सय ८० घर रहेको जोगी समुदायमा धेरै कमले मात्र यसईई परीक्षा उर्तिण गरेको शिक्षा विकास तथा समन्वयन ईकाई प्रमुख लिला पोख्रेलले बताए । अब स्थानीय तहलाई नै सम्पुर्ण अधिकार रहेको हुनाले स्थानीय तहले नै जोगी बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउनका लागि विभिन्न अवसर प्रदान गर्नुपर्ने प्रमुख पोख्रेलले बताए ।

जिल्लाको फेदाप गाउँपालिका २ ओयाक्जुङ्गमा मात्र रहेका जोगी समुदायहरुका बालबालिकालाई आगामी दिनमा विशेष कार्यक्रम गाउँपालिकाले ल्याउने प्रमुख हरी चोङवाङले बताए ।

गाउँपालिकाले गोजी समुदायका बालबालिकालाई विद्यालयमा भर्ना गराए वापत भत्ता र दैनिक उपस्थितिका आधारमा समेत भत्ता व्यवस्था गर्ने हो भने उनिहरु नियमित विद्यालय आउने स्थानीय शिक्षकहरु बताउछन् ।