भद्रपुर । कर छलीको आरोपमा सुनसरी अदालतको आदेशमा झण्डै डेढ करोडको वैङ्क धरौटी रकम बुझाएर केही महिना अघि छुटेका शिव स्टोर भद्रपुरका सञ्चालक सञ्जीव कुमार घोष र बजरङ्गवली अर्डर एण्ड सप्लायर्सका सञ्चालक अजय शाहको कारोबारका सम्पुर्ण कागजपत्र नियन्त्रणमा लिएको छ । भद्रपुर–५ र ६ मा गोदाम राखेर अवैध कारोबार गरेको आशङ्कामा सरकारी निकायले तीन दिन देखी छानविन गरी आइतबार साँझ कागजपत्र नियन्त्रणमा लिएको हो । इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत रमेश रेग्मीको नेतृत्वमा आएको टोलीले व्यापारिक कारोबारका सम्पूर्ण कागजपत्र लगेको सो कार्यालयले जनाएको छ । शुक्रबार साँझबाट गोदाममा राखिएका विभिन्न प्रकारका कपडाको टोलीले गन्ती शुरु गरेको थियो । पहिलो दिन राजस्व अनुसन्धानको आदेशमा आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर अधिकृत पेशल न्यौपानेको नेतृत्वमा सशस्त्र प्रहरी बल गण नम्बर–२ का डिएसपी दोर्णबिक्रम शाह लगायत गएको टोलिले गोदाममा छानविन शुरु गरिएको थियो भने आइतबार राजस्व अनुसन्धानका अनुसन्धान अधिकृत रेग्मी, हितेश बस्नेतको नेतृत्वमा आन्तरिक राजस्व कार्यालय , झापाका कर अधिकृत न्यौपाने, झापा उद्योग वाणिज्य सङ्घ भद्रपुरका महासचिव पङ्कज कुमार शर्मा र सञ्चालकको उपस्थितीमा गोदाममा रहेका कपडा गन्ती गरिएको थियो । गन्ती गरिएका तीनओटा गोदाममा राजस्व अनुसन्धानले सिल गरेको र खरिद, बीक्री खाता स्टक बुक,प्रज्ञापन पत्र लगायतका सम्पूर्ण कागजपत्र अनुसन्धानको लागि लगिएको अनुसन्धान अधिकृत रेग्मीले जानकारी दिए । सामान गन्ती भइसकेका कारण अब सामान अनुसारको कागजपत्र हेरेरमात्र कारण खुल्ने उनले जनाए । गल्ती गरेको नदेखिएमा गोदाम जिम्मा लगाइने र देखिएमा कानूनी कारबाही हुने उनको भनाइ छ । खानतलासी गरिसकेको गोदाममा सवै प्रकृया पूरा गरी मुचुल्का समेत उठाइसकेकोले गोदाममा सुरक्षाको आवश्यक्ता नरहेको सशस्त्र प्रहरी बल गण–२ का डिएसपी ओजिस ओलीले जानकारी दिए । सामानको तलमाथी हुने र कुनै अप्ठ्यारो हुन नदिन सुरक्षा दिएको उनको भनाइ छ । भन्सार छलेर कपडा भित्र्याइएको आशङ्कामा सप्लायर्सका दुई वटा गोदाममा सशस्त्र प्रहरी बल नेपाल क्षेत्रीय कार्यालय बाहिनीले सादा पोशाकमा पठाएको टोलीले व्यवसायी घोष र शाहको बारेमा सूचना दिएपछि गोदाममा छानविन शुरु गरिएको थियो ।