विर्तामोड । झापाको सुरुङ्गामा जारी टिभिएस प्रथम अन्तर प्रदेश टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको आइतवारको खेलमा युथ क्रिकेट क्लव राजविराज बिजयी भएको छ । राजविराजले मकवानपुर क्रिकेट एकाडेमी हेटौडालाई १०४ रनको फरकले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । पहिलो टच जितेर ब्याटिङ्ग रोजेको राजविराजले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७६ रनको विशाल योगफल जोडेको थियो । राजविराजका तर्फबाट राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका खेलाडी महवुव आलमले अर्धसतक ५० रन तथा अर्का राष्ट्रिय खेलाडी अमृत यादवले ४७ रन जोड्न सफल भए । यसैगरि अर्का राष्ट्रिय खेलाडी हासिम अन्सारीले समेत २१ रनको मद्दतमा स्कोर बनाउन सफल बनेका थिए । यता हेटौडाका तर्फबाट असिम श्रेष्ठ र विपुल खनालले समान २÷२ विकेट लिएका थिए । १७७ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको हेटौडाले १९ ओभरमा अल आउट हुँदा ७२ रन मात्रै जोड्न सफल बन्यो । हेटौडाका लागि विपुल खनालले सर्वाधिक १७ रन जोड्दा बाँकि ब्याटम्यानहरु दोहोरो अंक जोड्न नपाउदै मैदान छाड्न बाध्य भएका थिए । हेटौडालाई सस्तैमा समेटनका लागि राजविराजका बलरहरु पुष्प थापाले ३ तथा हासिक अन्सारीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच राजविराजका अमृत यादव भए । सोमवारको अन्तिम पहिलो चरणको खेल उदयपुर क्रिकेट एकाडेमी र खुकुरी क्रिकेट एकाडेमी भैरहवाविच हुने आयोजक समितिका अध्यक्ष निमेश ओलीले बताए । प्रतियोगितामा नेपालभरका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गा र कनकाई सचेत युवा क्लवको आयोजनामा भएको हो ।