[caption id="attachment_51080" align="alignnone" width="1800"] सांकेतिक तस्विर[/caption]

धरान / आरम्भ नाट्य डबली धरानले नाट्य अभिनयसम्बन्धी आधारभूत कार्यशालाको चौथो शृङ्खला शनिबारदेखि शुरू गरेको छ ।

नाट्यसम्बन्धी कोर्ष पुस्तिका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । धरान उपमहानगरका सामाजिक विकास महाशाखा अधिकृत गणेशप्रसाद खतिवडाले कोर्ष पुस्तिका अध्यक्ष गोपाल देवानलाई हस्तान्तरण गरेका थिए ।

यसक्रममा दिवङ्गत कवि बद्रि पलिखेलाई स्मरण गरियो । अधिकृत खतिवडाले आरम्भले बालबालिकालाई निःशुल्क प्रशिक्षण गराउँदै धरानको रङ्गमञ्चलाई पुनः जागृत गराएकोमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले अभिनयमा सहभागीहरूलाई खाजा व्यवस्थापनबापत ५ हजार रूपैयाँ सहयोग गरेका छन् । पुस्ता हस्तान्तरणको अभावमा धरानको रङ्गकर्म पलायन भएकाले पनि पुस्तान्तरणका लागि निःशुल्क कार्यशाला राखिएको अध्यक्ष देवानले बताए ।

उनले धरान उपमहानगर स्थानीय सरकार भएकाले रङ्गमञ्च निर्माणका लागि पहल थाल्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा ३० बालबालिका सहभागी छन् ।

आरम्भका सचिव कृष्ण तिम्सिनाले धरान–१४ का विभिन्न क्लब तथा स्कुलका विद्यार्थीहरू सहभागी छन् । कार्यशाला शुक्रबार र शनिबार गरी १५ दिनसम्म सञ्चालन हुने छ ।

आरम्भले यसअघि २०७३ सालमा तीनदिने, पन्ध्रदिने, २०७४ मा ७ दिने कार्यशाला गरिसकेको छ ।