बिर्तामोड । झापाको कनकाईनगरपालिका सुरुङ्गामा जारी प्रथम अन्तर प्रदेश टि ट्वाइन्टी क्रिकेट प्रतियोगितामा शनिवार आज भएको खेलमा वाइआरसिसि क्लव विराटनगर विजयी भएको छ । विराटनगरले विर्तामोडको युनाइटेड क्रिकेट क्लवलाई ८ विकेटको विशाल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा टस जितेर विराटनगरले पहिलो फिल्डिङ्ग रोजेको थियो । विर्तामोडले निर्धारित २० ओभरमा ८१ रन जोडेको थियो । विर्तामोडका लागि बसन्त कार्कीले सर्वाधिक २० रनको योगदान दिएका थिए । विर्तामोडबाट खेलेका राष्ट्रिय टिमका सदस्य तथा नेपालका अन्डर नाइन्टिन टिमका पुर्व क्याप्टेन समेत रहेका भुवन कार्कीले १२ रन जोडेका थिए । बिर्तामोडलाई सस्तैमा समेटनका लागि बिराटनगरका एमडी खालिदले सर्वाधिक ४ विकेट लिन सफल भए भने मैक कुमारले ३ विकेट लिएका थिए । विराटनगरले ८२ रनको सामान्य लक्ष्य १० ओभर ३ वल खेल्दा २ विकेटको क्षतिमा हासिल गरेको थियो । विराटनगरका लागि राष्ट्रिय खेलाडी सिद्धान्त लोहनीले नटआउट ३१ रन जोडेभने भने अर्का ब्याटम्यान मुरली चौधरीले २५ रन बनाएका थिए । बिर्तामोडको तर्फबाट भुवन कार्की र विनित बास्तोलाले १÷१ विकेट लिए । प्रतियोगितामा ४ विकट लिने विराटनगरका एमडी खालिद म्यान अफ द म्याच भए । आइतबारको तेस्रो खेल मकवानपुर क्रिकेट क्लव र युथ क्रिकेट राजविराज वीच हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले जानकारी दिए । कनकाई सचेत युवा क्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा कनकाई माविको खेल मैदानमा भइरहेको प्रतियोगितामा नेपालका ८ टिमको सहभागिता रहेको छ ।