बिर्तामोड । विएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोडले निःशुल्क १३ दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । वडा दशैं, दिपावली तथा छटको अवसरमा रोगीहरुलाई मध्यनजर गर्दै असोज ७ देखि १९ गतेसम्म निःशुल्क ओपोडी सेवा सञ्चालनमा ल्याएको विहीवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उक्त सेवा शनिवार र विदाको दिन लागू नहुने हस्पिटलका डाक्टर निराजन पराजुलीले बताए । सोही अवसरमा प्याथोलोजिमा १५ प्रतिशत र भिडियो एक्सरे, सीटी स्क्यान र एमआरआईमा १० प्रतिशतको छुटको पनि व्यवस्था भएको डाक्टर पराजुलीले बताए । ‘ल्याप्रोस्कोपीक प्रविधिबाट पित्तथैलीको अप्रेसन ३६ हजारमा गरिन्छ’, डा. पराजुलीले भने ‘हर्निया तथा हाईड्रोसिलको अप्रेसनमा समेत सस्तो प्याकेजको व्यवस्था छ ।’ उनले नाक, कान, घाटी सम्बन्धि समस्याहरुको लागि पनि अप्रेसन प्याकेज भएको बताए । हस्पिटलले गरेका राम्रा भन्दा पनि नराम्रा कार्यको प्रचार भएको हस्पिटलका प्रवन्ध निर्देशक दुर्गा प्रसाईले बताए । बिर्तामोडमै हुने उपचार पनि पैसा कमाउने नाममा विभिन्न अस्पतालले अन्य शहर तथा भारत पठाउने गरेकोले अझ खर्चिलो र समस्या झेल्नु परेको उनको भनाई थियो । महँगो हस्पिटल भनेर विएण्डसीलाई प्रचार गरेको भए पनि अन्य हस्पिटलको तुलनामा सस्तो हस्पिटल भएको उनले बताए । प्रसाईले ३ बर्षको अवधिमा हस्पिटलमा भएका उतारचडावको समेत ब्याख्य गरेका थिए । कार्यक्रममा हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीलगायतको उपस्थिति रहेको थियो ।