इटहरी/ आज असोज ३ अर्थात नेपालको संविधान घोषणा भएको दिन देशै भरी संविधान दिवस मनाई रहेको बेला सुनसरीको ईटहरीमा भने संघिय लिम्वुवान मञ्च र नेपाल संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले कालो झण्डा सहित विरोध प्रदर्शन गरेको छ ।

पहिचान सहितको आधारमा संघियता लागुहुनु पर्ने र पहिचानको विरोधी धारा २७४ खारेजको माग सहित प्रदर्शन गरेका थिए । १ नम्बर प्रदेशका पहिचानवादीहरुको भेलाले सुनसरीको ईटहरीमा संविधान संसोधन गरीे पहिचान सहितको प्रदेश हुनु पर्ने माग सहित विरोध प्रदर्शन गरेका हुन् ।

'पहिचानको आधारमा १० प्लस १ प्रान्त कायम गरौं, धारा २७४ खारेज गरौंँ', 'असाज ३ कालो दिन नारा' लगाउदै सयाैँको संख्यामा कालो झण्डा सहित प्रदर्शनकारीहरु सडकमा निस्किएका थिए । २०७२ मा जारी संविधानले पहिचान सहितको संघीयता हुन नदिएको भन्दै संबिधान दिवसलाई आज लिम्बुवानहरुले कालो दिनको रुपमा लिएका छन् ।

प्रदेश १ लाई लिम्बुवान राज्य कायम बनाउनु पर्ने र संविभानको धारा २७४ खारेज हुनु पर्ने लिम्बुवानहरुको माग रहेको नेपाल संघिय लोकतान्त्रीक राष्ट्रीय मञ्च अध्यक्ष कुमार लिगंदेनले बताएका छन् । उनले जातिय आधारमा प्रदेशको संघीयता कायम नभए देश द्धन्दमा जाने चेतावनी समेत दिएका छन् ।

उनले लिम्वुवानको भावना लाई नबुझी नसमेटी एक तन्त्रीय निर्णय लाद्न खोजे प्रदेश सरकारले फलामे गेट लिम्बुवान कार्यकर्ताले ध्वस्त पार्ने चेतावनी दिएका छन् ।  नेपाल संघिय लोकतान्त्रीक राष्ट्रीय मञ्चका सचिवालय सदस्य केदार उप्रेतीले प्रदेश शब्द हटाई पहिचानको आधारमा ११ वटा राज्य कायम गर्नुपर्ने र जारी भएको संविधान जनताको हितमा नभएको भन्दै यो संविधान नमान्ने बताएका छन् ।

सरकार र संविधानको विरुद्धमा चर्को नारा लगाउदै प्रदर्शनकारीले राज्यले उपेक्षा गरे देश द्धन्दमा समेत जान सक्ने बताएका छन् । यो सरकारले दुईतिहाईको दम्वमा आम जनताको आवाज दबाउन खोजेको आरोप समेत लगाएका छन् । नेपालको इतिहाससँग जोडिएको लिम्बुवान, मगरात, शेर्पा, नेवार, थारु, धिमाल आदीको पहिचानको सम्मान सरकारले गर्नुपर्ने उनिहरुको माग रहेको थियो ।

पुर्वी नेपालको १४ वटा जिल्ला लिम्वुवानले दावी गर्दै आएको छ । संविधान जारी भएको दिन पनि लिम्वुवानले असन्तुष्ट जनाएको थियो । प्रत्येक वर्ष यसै दिन लिम्बुवानले विरोध गर्दै आएको छ ।