मधुमल्ला/इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सुरक्षासँग सम्बन्धित समसामयिक विषयमा छलफल गरिएको छ ।

बुधबार उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा भएको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाइसकेको बताउँदै जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सवालमा प्रहरी गम्भिर भएर लागि परेको बताए ।

नयाँ मुलुकी अपराध संहिताले सामान्य विष्फोटक पदार्थको व्यापार तथा ओसार–पसार गर्नेलाई, जुवा खेल्ने खेलाउनेलाई कडा सजायको व्यवस्था आएकोले सर्वसाधारणलाई सचेत रहन उनले आग्रह गरे । चाडपर्वमा अपराधिक गतिबिधि रोक्न विशेष गस्ती टोली परिचालन भइसकेको उनले भनाई छ ।  यस्तै, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले उर्लाबारीलाई शान्त शहर बनाउनका लागि प्रहरीसँग सहकार्य गरिरहेको बताए ।

चाडपर्वमा हुन सक्ने अपराधिक गतिबिधिका बारेमा सचेत रहन पनि उनले व्यापारी एंवम् उद्योगीहरुलाई आग्रह गरेका छन् । उर्लाबारी उद्योग वाणिज्य संघका प्रमुख सल्लाहकार चन्द्रबहादुर भट्टराई (भरत) ले चाड पर्वमा हुन सक्ने चोरी, डकैती, लुटपाट, झै –झगडालाई रोक्न प्रहरीले ध्यान दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपाने, उद्योग उपाध्यक्ष यामलाल रसाईली, बाणिज्य उपाध्यक्ष शेरबहादुर भट्टराई, महासचिब रामबहादुर थापा लगायतले चाडपर्वमा सुरक्षा ब्यवस्था प्रभावकारी बनाउन आग्रह गरे ।