मधुमल्ला/मोरङ उर्लाबारी– ७ स्थित गोदावरी हस्पिटल प्रा.लि.ले यज्ञबहादुर कटुवाल ‘इकु’ को हस्पिटलमा हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ ।  उर्लाबारी–५ का कटुवालको नाकबाट किरा झर्ने समस्या छ । बुधबार हस्पिटलले उनको चेकजाँच गर्दै हस्पिटलमा हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको हो ।

हस्पिटलका सञ्चालक प्रकाश चौहानले कटुवालको उपचारमा हस्पिटल सहयोग बन्ने बताए । कटुवालमा अदभूत कला रहेको छ । उनले जिब्रोलाई निधारसम्म पुर्याएर सबैलाई अचम्मित बनाउने गरेका छन् । सामान्य त मानिस जिब्रोलाई नाकको डाडोसम्म पुर्याउनु नै मुस्किल पर्दछ तर यी युवाले भने निधारसम्म पुर्याएर सबैलाई चकित बनाउँदै आएका छन् ।

उनको नाकको डाडो सामन्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उनको नाकबाट किराहरु निस्केको उनले बताए । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दाँतको नाममा एउटा मात्र रहेको छन् ।

उनले आफ्नो जस्तो प्रतिभा विश्वमा नभएको भन्दै गिनिज बुकमा नाम लेखाउन सहयोग गर्न सरोकारवाला पक्षलाई अनुरोध गरेका छन् ।