बिर्तामोड/ पुर्वेली कलाकार संघले लागु औषध दुब्र्यसन बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले ‘कुलत’ नामको डकुमेन्ट्री निर्माण गर्न शुरु गरेको छ ।

संघले जनचेतनाको दृष्टिकोणले निर्माण गर्दै गरेको यो दोस्रो डकुमेन्ट्री हो ।  कलाकार संघको ब्यानरमा निर्माण हुने डकुमेन्ट्री एक घण्टाको हुने निर्देशक कसम खवासले जानकारी दिए । उनले लागु औषध सेवनका कारण समाजमा हुने गरेका घटनालाई चित्रण गरेर त्यसबाट युवा पुस्तालाई जोगाउने यसको लक्ष्य भएको बताए ।

’डकुमेन्ट्रीको कथामा समाजका धनाढ्य र अति बिपन्न समुदायका मानिस कुलतमा फसेका हुन्छन् । लागू औषधको निरन्तर सेवनका कारण उनीहरुमा प्राणघातक रोग एचआइभि एड्स समेत लागेको हुन्छ । आर्थिक रुपमा सम्पन्न परिवारका दुब्र्यसनी उपचार गर्न सक्षम हुन्छन् ।

तर, जो बिपन्न छन्, उनीहरुको मृत्यु त्यही रोगका कारण हुन्छ ।’ डकुमेन्ट्रीको कथा यसकै पेरिफेरीमा घुमेको छ ।  पुर्वको झापा, इलाम लगायतका जिल्लामा छायांकन हुने डकुमेन्ट्रीमा अरुण लिवाङ, राजा कन्दङवा, राजु माझी, भरत राउत, दिक्षा भुर्तेल, सम्झना बस्नेत, सुगम नेम्वाङ, मोहन फोम्बो लगायतका कराकारहरुले अभिनय गरेका छन् । असोज महिनाभित्र डकुमेन्ट्रीको छायांकन सक्ने लक्ष्य राखेको खवासले बताए ।

डकुमेन्ट्री निर्माणमा भरत राउत, मिरा राई र मोहन फोम्बोको लगानी रहेको छ । सामाजिक चेतनायुक्त डकुमेन्ट्री खासगरी विद्यालय, बजार लगायतका स्थानमा जनचेतनाका लागि प्रदर्शन गरिने निर्माणपक्षको भनाई रहेको छ ।  संघले यसअघि रुख रोप्न प्रेरित गर्ने डकुमेन्ट्री निर्माण गरेको थियो ।

पर्यावरण सन्तुलनका हिसावले बन जङगल जोगाउन, डढेलो नियन्त्रण गर्नका लागि डकुमेन्ट्रीले सन्देशमुलक जनचेतना अभिबृद्धि गरेको निर्देशक खवासले जानकारी दिएका छन् ।