काठमाडौं/ २०६० कात्तिक १० गते बिहानको घटना थियो । त्यसको दुई दिनअघि कात्तिक ८ गते गोंगबुमै रहेको न्यू पर्वत लेसपार गेष्टहाउसमा जबरजस्ती करणीपछि हत्या भएको घटनाको विषयमा सोधपुछ गर्न आफूलाई त्यहाँ ल्याइएको थाहा पाएपछि प्रहरी जवान श्रेष्ठ स्तब्ध बने । जब कि घटना भएको राति १० बजेदेखि बिहान ३ बजेसम्म श्रेष्ठ ड्युटीमै थिए । उनी त्यतिबेला ड्युटीमा रहेको देख्ने दुईजनाले अदालतमा बकपत्र गरेका छन् । ‘मेरो ड्युटी दुई बजेसम्म भए पनि त्यस दिन साथी ढीलो उठेकाले तीन बजेसम्म ड्युटीमै बस्नुपरेको थियो,’ श्रेष्ठ सम्झन्छन् । गेष्टहाउसमा रिता लामा मोक्तानको हत्या भएको समाचार सञ्चारमाध्यमले महत्वका साथ प्रकाशित र प्रसारित गरिरहेका थिए । हत्यारा पत्ता लगाउन प्रहरीमाथि स्थानीयको चर्को दबाव थियो । धेरैपछि थाहा भयो, घटनाका आरोपी विष्णु सिलवाल फरार भएपछि दबाव थेग्न नसकेर प्रहरीले आफ्नै जवान मदननारायणलाई पक्राउ गरेको रहेछ ।