दमक/झापाको दमकदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङबाट चिनसम्म जोडिने सहज पहुँचको सडकका रुपमा रहेको दमक– रवि– चिसापानी सडकका लागि यो वर्ष सरकारले २ अर्व २० करोड रुपैयाँ विनियोजन गरेको छ । दमक– रवि– चिसापानी सडक निर्माण उपभोक्ता समितिले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्रालयबाट रकम विनियोजन भएपछि स्थानीयमा खुसीयाली छाएको कुरा जानकारी गराएको छ ।

अर्थ मन्त्रालयले भदौ २५ गतेको निर्णय उल्लेख गरेर ३१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रकम बारेमा सम्झौता भएको पत्र पठाएको छ । अर्थमन्त्रालयको सो पत्रमा, जम्मा ३४ दशमलव ४ किलोमिटर सडकमध्ये ६ दशमवल २ किलोमिटर बाहेक २५ किलोमिटर सडक कालोपत्रे निर्माणका लागि २ अर्व २० करोड बजेट सुनिश्चितता गरिएको उल्लेख छ ।

बहुवर्षिय ठेक्का अनुरुप वर्षेनी रकम विनियोजन गर्ने समेत उल्लेख भएको मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीद्धारा हस्तारित पत्रमा जनाइएको छ । इलामखण्डको रतुवा पुल उत्तरबाट ७ मिटर चौडाइको सो सडक गुणस्तरीय कालोपत्रे (अक्पाल्ड ब्लाकटप) निर्माणको काम ३ वर्षमा सक्ने जानकारी आएको समिति अध्यक्ष रेवत (गगन) पुरीले पत्रकारहरुलाई जनाए । उनले कालोपत्रेका लागि भएको बजेट विनियोजनले स्थानीयमा उत्साह छाएको बताए ।

सडक निर्माणको पहल थाल्ने पहिलो अध्यक्षका रुपमा रहेका विजय बरालले पत्रकारहरुसँग भने ‘वर्षाै अघिको कठिन सपना अब पुरा हुन लागेकोमा ज्यादै खुसी लागेको छ । त्यो बेला बाटो बन्ने कुरामा विश्वस्त नबनेका स्थानीयमा अहिले उत्साह छाएको छ ।’ सडक निर्माण उपभोक्ता समिति बन्दाका सुरुका पहाडी क्षेत्रका उपाध्यक्ष किरण राईले चाँडोभन्दा चाँडो गुणस्तरीय सडक निर्माण भई मेची अञ्चलको छोटो र कृषिजन्य उपज किनबेचको समेत प्रभावकारी माध्यम बन्ने सुनाए ।

रतुवा पुलभन्दा दक्षिणको ६ दशमलव ५ किलोमिटर सडक कालोपत्रेका लागि काठमाडौंको महालक्ष्मी किरातेश्वर जेभीले भ्याट सहित २२ करोड रुपैयाँमा ३० महिनामा सक्नेगरी असारमा ठेक्का सम्झौता गरिसकेको छ । उसले रतुवामा क्रसर राख्ने काम धमाधम गरिरहेको छ । अवको १५ दिनपछिदेखि काम थाल्ने ठेकेदार निर्मल उप्रेतीले जनाए । झापाखण्डको ३ किलोमिटर कालोपत्रे ३ वर्ष अघि सम्पन्न भइसकेको छ । उत्तरमा भेडेटारतर्फबाट आउने सडकमार्फत रविसम्मको कालोपत्रेको ठेक्का लागिसकेको उल्लेख छ ।

लामो समयदेखि बाँकी रहेको रतुवा किनारको साढे ११ किलोमिटर सडक क्षेत्रमा पनि ट्रयाक खुलिसकेको भएपनि बीचमा पुल बन्न बाँकी हुँदा वर्षाको समयमा भनें यातायात अवरुद्ध नै छ । सो सडकखण्डमा ९ वटा कल्भर्ट र एउटा पुल बनिसकेको छ । अब ४ वटा पुल यो आर्थिक वर्षमा सकिनेगरी ठेक्का लागेको थियो । पुल निर्माणको काम भइरहेको छ । निर्माणको २५ वर्षपछि ट्रयाक पुरा

दमक–चिसापानी–रवि (फाल्गुनन्द मार्ग) सडक निर्माणको प्रक्रिया थालिएको ठीक २५ वर्षपछि ट्रयाक पुरा भएको थियो । ट्रयाक पुरा भएको ६ महिना भयो । मेची अञ्चलको तराई र पहाडलाई जोड्ने सबैभन्दा छोटो दूरीको मानिएको सो मार्ग ०४९ सालदेखि स्थानीयस्तरबाट निर्माण प्रक्रिया थालेर स्थानीयको उत्साहमा ०५१ देखि निर्माणको काम अघि बढाइएको थियो ।

अन्यत्र ट्रयाक खुलेर १५ वर्षअघिदेखि हिँउदमा यातायात सञ्चालनमा आएपनि साढे ११ किलोमिटर क्षेत्र भनें रतुवा खोलाको बगरै बगर थियो । ट्रयाक खुल्न बाँकी रहेकाले खोलै खोला यातायात सञ्चालन गर्नुपर्ने हुँदा वर्षाको ३, ४ महिना त यातायात पूर्ण अवरुद्ध बन्दै आएको थियो । सो सडक इलामको चुलाचुली, माङसेबुङ र दक्षिणी पाँचथरका बासिन्दाको ‘लाईफ लाईन’को रुपमा रहेको चिसापानी पञ्चमी निवासी हेमन्त राईको प्रतिक्रिया छ ।

सोही ठाउँकी लोक गायिका कल्पना राई भन्छिन् ‘अब चाँही हामीलाई पनि तराई झर्न र फर्कन सजिलो हुने र हाम्रा उत्पादन विक्ने आशा पलाएको छ ।’ सडक पुरा भएर बाह्रै महिना यातायात सूचालू बन्दा तराईका बजारबाट दैनिक उपभोग्य सामग्री त्यता पठाउन सहज बन्ने भएपछि व्यापार प्रवर्द्धन थप सहयोग पुग्ने छ ।

त्यसमा पनि दमक पहाडी ती क्षेत्रका लागि व्यापारिक केन्द्रका रुपमा रहने हुँदा दमकको व्यापारले फड्को मार्ने अवस्था देखिन्छ । २ वर्षअघि सरकारको बहुवर्षीय योजनामा सो सडक सूचीकृत भइसकाले गत वर्षदेखि १५ करोड रुपैयाँ विनियोजन हुँदै आएको छ । त्यसअघि स्थानीयको ठूलो रकम सहित सरकारबाट समेत गरी करीव २० करोड रुपैयाँ सो सडकमा खर्च भइसकेको थियो । दमकबाट पाँचथरको रविसम्मको दुरी ४७ किलोमिटर छ ।

तर, इलामदेखि राँके बजार हुँदै घुमेर तराई झर्नुपर्दा १ सय ७८ किलोमिटरको दूरीको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।