विराटनगर । दैनिकजसो सुन तस्करी र हत्या प्रकरणका प्रहरीका उच्चपदस्थ अधिकारीहरू धमाधम छुट्न थालेका छन् । जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेश उल्टाउँदै उच्च अदालतले यस्तो आदेश दिएको हो । बन्दीहरूले जिल्लाको आदेश उल्टाउँदै साधारण तारेखमा छाड्न माग राख्दै मुलुकी ऐनको अदालती बन्दबस्तको १७ नम्बर गरेपछि अहिले धमाधम छुट्न थालेका हुन् । आइतबार साधारण तारेखमा राखेर पुर्पक्ष गर्न अदालतले आदेश दिएको डिएसपी केसी काठमाडौंबाट धरान आएर हत्या गरिएका सनम शाक्यको शवलाई इटहरीको होटलमा लगी हत्यामा संलग्नसँगै रात बिताएका निलम्बित प्रहरी अधिकृत हुन् । सुन काण्डका मुख्य अभियुक्त भनिएका ‘गोरे’ लाई गिरफ्तार गर्ने रणनीति स्वरूप होटलमा बसेको भनिए पनि शव गायव बनाउने उच्च प्रहरी अधिकृतहरूको आदेश कार्यान्वयन गर्न खोजेको र नसकेपछि विराटनगरमा नाटकीय रूपमा शव बरामद गर्ने कार्यमा केसी क्रियाशील थिए । एसएसपी लोहनी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख थिए । यस प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितिले उनलाई बयानका लागि बोलाएको थियो । १९ वैशाखमा उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पुर्जी थमाइएको थियो । लोहनीसहित महाशाखाका डिएसपी केसी र सइ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो । निलम्बित एसएसपी विकासराज खानाल पक्राउ पर्नुअघि मकवानपुर प्रहरी प्रमुख रहेका थिए । माघ ७ गते युएईबाट आएको ३३ केजी सुनका मालिक गोरेसँग प्रहरी अधिकारीको सम्बन्ध रहेको देखिएपछि उनी पक्राउ परेका थिए । खनालले सनम शाक्यको शव लुकाउन समेत गोरेलाई सल्लाह दिने गरेको फोन संवादबाट खुलेको थियो । उच्च अदालतको २ नम्बर इजलासका न्यायाधीशद्वय नगेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीले जिल्ला अदालत मोरङको आदेश उल्टाउँदै मङ्गलबार साधारण तारेखमा छोड्न आदेश दिएका हुन् । जिल्ला अदालतको आदेश रीतपूर्वक नदेखिँदा साधारण तारेखमा राखी मुद्दाको कारबाही अगाडि बढाउन आदेश आएको उच्चअदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए । जिल्ला अदालतको आदेश रीतपूर्वक नदेखिँदा साधारण तारेखमा राखी मुद्दाको कारबाही अगाडि बढाउन आदेश आएको उच्चअदालत विराटनगरका रजिष्ट्रार रेग्मीले बताए । मुलुकी ऐन अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको उनले बताए । त्यसैगरी उच्च अदालतको ५ नम्बर इजलासका न्यायाधीशद्वय उमशेराज पौडेल र उमेशकुमार सिंहले जिल्ला अदालत आदेशलाई उल्टाउँदै डिएसपी केसीलाई साधारण तारेखमा र तिवारीलाई धरौटीमा छोड्न आदेश दिएका हुन् । केसी र तिवारीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारेखमा छोड्न माग राख्दै असार ७ गते अदालती बन्दबस्तको १७ नम्बर गरेका थिए । प्रतिवादी केसीकोतर्फबाट वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ र अधिवक्ता शङ्करमान थापाले बहस गरे । त्यस्तै तिवारीकोतर्फबाट अधिवक्ता भरत थापा र विकास थापाले बहस गरे । वादीकोतर्फबाट उपन्यायाधीवक्ता राजेन्द्रसिंह भण्डारी र सरकारी वकिलको कार्यालय विराटनगरका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए । यसअघि अभियुक्तहरू निलम्बित डिएसपी सञ्जय राउत, तुलाराम थारु र लाक्पा शेर्पालाई उच्चअदालत विराटनगरले जिल्लाकै आदेश सदर गर्ने अन्तिम आदेश गरेको छ । डिएसपी थापालाई बिहीबार, एयरलायन्स कर्मचारी थारुलाई मङ्गलबार र मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का सहयोगी शेर्पालाई बुधबार उच्च अदालतले जिल्लाकै आदेश सदर गर्न अन्तिम आदेश गरेको हो । त्यस्तै टेकराज मल्ल, राजनकुमार, महावीर गोल्यान, सम्बिरप्रसाद तोलाङ्गे, लुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजन थापालाई भने थुनामै राख्न आदेश दिएको छ । गोरेका सहयोगी रामकुमार तिवारीलाई ५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । निलम्बित प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्मरबहादुर थापाको हकमा जिल्लाको आदेश उल्टाउँदै थुनामा राख्न उच्च अदालतले आदेश दिएको थियो ।

उच्च तह छुट्दै, तल्लो तहका थुनामै उच्च तहका प्रहरी अधिकारीलाई जिल्ला अदालतको आदेश उल्टाउँदै साधारण तारेखमा छोड्न आदेश दिए पनि तल्लो तहका प्रहरीचाहिँ अझै थुनामै रहेका छन् । उच्च अदालत विराटनगरले तल्लो तहका प्रहरीलाई भने जिल्लाको आदेश रीतपूर्वक नभएको भन्दै थुनामा राख्न आदेश दिएको छ । पछिल्लो समय उच्च अदालतले पाँच जना प्रहरीको हकमा आदेश दिएको छ । जसमा निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीलाई जिल्लाको आदेश उल्टाउँदै साधारण तारेखमा छोड्न आदेश दिएको छ । तल्लो तहका प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र प्रहरी हवल्दार अम्बरबहादुर थापालाई साधारण तारेखमा जेठ २८ गते छोडेको जिल्ला अदालतको आदेशलाई बदर गर्दै उच्चले थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । खड्का एसएपी श्याम खत्रीका ड्राइभर हुन् भने हवल्दार थापा अङ्गरक्षक थिए ।

पूर्व डिआइजीसहित ६ जनाको पेशी स्थगित सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका ६ जनाको पेशी स्थगित भएको छ । उच्च अदालत विराटनगरको २ नम्बर इजलासमा चढेको पेशी मङ्गलबार स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्चतहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको बताइएको छ । प्रतिवादीका कानून व्यवसायीहरूले नभ्याउने कारण देखाउँदै पेशी स्थगित गर्न निवेदन परेपछि स्थगित गरिएको अदालतले जनाएको छ । मङ्गलबार निलम्बित एसएसपी श्यामबहादुर खत्री, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, भुजुङ्ग गुरुङ, दोराम खत्रीकोतर्फबाट कानून व्यवसायीको तर्फबाट पेशी स्थगित गराएका थिए । त्यस्तै १४ वटा पेशी अदालतले समय अभावले गर्दा हेर्न नभ्याएको बताइएको रजिष्ट्रार रेग्मीले बताए ।