पानवारी । चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्न थालेका छन् । धरानमा दिनदहाडै ढोका फोडेर चोरी भएको घटना बाहिर आएको छ । धरान–६ पानवारी बगैंचा टोलकी रीता श्रेष्ठको घरमा दिनदहाडै ढोका फोडेर चोरी भएको हो । श्रेष्ठ भन्छिन्, ‘म एकछिन बजार गएकी थिएँ, फर्कदा सर्वस्व चोरी भएछ ।’ उनका अनुसार दराजमा राखेको आफ्नो र महिला समूहको बचत समेत गरी १ लाख ५० हजारभन्दा बढी नगद र २ तोला ४ आनाको सुनको सिक्री चोरी भएको छ । यो पछिल्लो चोरीको घटना हो । गत साउन २२ गते धरान–१५ मिलन चोकका निरा राई सडकमा हिँडिरहेको बेला घाँटीमा लगाइराखेको आधा तोला सुनको सिक्री लुटियो । भदौ २१ गते धरान–६ पानवारीमा कल्पना खतिवडाको घरमा दिउँसो ३ बजेको समयमा चोरी भयो । चोरले नगद १ लाखसहित मङ्गलसूत्र, प्याण्डल, चुरा र सिक्री गरी साढे तीन तोला बराबरको सुनको गहना चोरेर लग्यो । खतिवडा भन्छिन्, ‘म २ बजेतिर घरबाट निस्केकी थिएँ, छोरा स्कुलबाट आउँछ भनेर सधैँ राख्ने ठाउँमा चाबी राखेकी थिएँ ।’ प्रहरीले धरान–१५ की निरा राईको सिक्री लुट्ने दुई जनालाई पक्राउ गरेको छ भने धरान–६ मा दिउँसै घर फोडेर चोरी गर्नेको सम्बन्धमा भने कसैलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको सनराइज बैङ्कमा भएको चोरी, धरान–९ कलेज रोडस्थित थ्रिजी मोबाइल प्यालेस, बीपी प्रतिष्ठानको आवासबाट ६ लाख ८८ हजार बराबरको सुन र नगद चोरी, धरान–१३ स्थित फुस्रेबाट पनि २ लाख ४१ हजार बराबरको सुन तथा नगद चोरीका विषयमा प्रहरीले हालसम्म चोर पत्ता लगाउन सकेको छैन । प्रतिष्ठान हाताको बैङ्कको सिसिटिभी क्यामेरा र डिभिआर समेत चोरी भएको थियो । बैङ्कका धरान शाखा प्रमुख सूर्यबहादुर बलम्पाकीले ६ महिना बितिसक्दा समेत चोर पत्ता नलागेकोमा आक्रोस पोखे । उनले प्रहरीसँग घटनाबारे बुझ्न सम्पर्क गर्दा ‘चाँडै पत्ता लाग्छ, हामी चोरको धेरै नजिक पुगिसक्यौं’ जस्ता जवाफ दिने गरेको भए पनि कहिल्यै चोर पत्ता लाग्न नसकेको बताए । धरान–६ पानवारीमा रहेका २ वटा सामुदायिक विद्यालय र ४ वटा निजी विद्यालयमा दोहो¥याएर चोरी भएको छ । ती विद्यालयमा भएका टिभी, ल्यापटप, सिसिटिभीको मनिटर, साउण्ड सिस्टम लगायतका सामान चोरी भएका छन् । चोर्दै गरेको भिडियो सिसिक्यामेरामा स्पष्ट रूपमा कैद भए तापनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेन । चोरीका घटना धेरै हुने भए पनि त्यसको उजुरी दर्ता प्रहरी कार्यालयमा न्यून रूपमा मात्रै हुने गरेको छ । गत भदौ २१ गते धरान–६ पानवारीमा साढे तीन तोला सुन र एकलाख नगद त्यस्तै २८ गते पानवारीबाटै डेढलाख नगद र १ तोलाभन्दा बढी सुन चोरी भएको घटना प्रहरी कार्यालयमा दर्ता भएको छैन । इलाका प्रहरी कार्यालय धरानमा चोरीका घटनाको विवरण माग्दा दुई महिनाको अवधिमा ५ वटा मात्रै चोरी भएको घटनाको रेकर्ड उपलब्ध गराएको छ । चोरीका घटनामा उजुरी दर्ता गरी मुद्दा चलाए चोरी गरेको सामान भेटिएमा अदालतबाट सामान लिन लामो समय कुर्नुपर्ने, चोर भेटिए पनि चोरीको सामान नभेटिए मुद्दा नै नचल्ने जस्ता समस्याले चोरीका घटना दर्ता नहुने प्रहरीले बताएको छ ।

चाडपर्व लक्षित सुरक्षा योजनाः प्रहरी इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाइसकेको दाबी गरेका छन् । उनका अनुसार यसअघि नै धरानका २१ वटा बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूसँग चाडपर्वमा आफ्ना ग्राहक र पैसाको सुरक्षा कसरी गर्ने भन्ने बारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिसकिएको छ । डिएसपी तिम्सिनाले भने, ‘एक नं. प्रदेश प्रहरी कार्यालयले बनाएको सुरक्षा योजनाअनुसार आर्थिक कारोबार हुने क्षेत्र, बैङ्किङ तथा वित्तीय संस्था, गरगहना बनाउने तथा बेच्ने स्थल लगायतका क्षेत्रमा काम गर्नेहरूसँग सचेतनात्मक अन्तरक्रिया गर्ने काम गरिरहेका छौं ।’ उनका अनुसार त्यस्ता स्थानमा भएका सिसी क्यामेरा फिट राख्ने, सेक्युरिटी गार्डलाई ओरियन्टेसन गर्ने काम भइहेको छ । त्यसैगरी नयाँ मुलुकी अपराध संहिताले सामान्य विष्फोटक पदार्थको व्यापार तथा ओसार–पसार गर्नेलाई, जुवा खेल्ने खेलाउनेलाई कडा सजायको व्यवस्था आएकोले सर्वसाधारणलाई सचेत रहन आग्रहसमेत गरेका छन् ।