धनकुटा । धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सले विद्यार्थी भर्नामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) भक्तपुरले तोकेको दररेटभन्दा बढी शुल्क लिएको पाइएको छ । स्रोतका अनुसार सिटिइभिटी स्तर निर्धारण महाशाखा सानोठिमी भक्तपुरले भाद्र २५ गते विद्यार्थी भर्नासम्बन्धी जारी गरेको भर्नाशुल्कभन्दा बढी शुल्क लिएको पाइएको हो । सिटिइभिटीले शैक्षिक सत्र ०७५/०७६ मा प्रशिक्षार्थी भर्ना शुल्क लिँदा तोकेको भन्दा बढी लिएको जनगुनासोका आधारमा सार्वजनिक सूचना जारी गरेको थियो । धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्सले विगतदेखि नै सञ्चालन गरिरहेको एचए, अनमी र सिएमए कक्षाहरूमा तोकिएभन्दा बढी भर्नाशुल्क लिएको विद्यार्थीहरूले गुनासो गरेका छन् । सिटिइभिटीले परिषद्बाट मान्यताप्राप्त संस्थाहरूले भर्नाको क्रममा तोकिएको भन्दा बढी शुल्क लिन नपाइने र शुल्क लिँदा पनि डिप्लोमा तथा प्रमाण–पत्र तह सामान्य चिकित्सा तीनवर्षे कार्यक्रमको शुल्कलाई खण्डीकरण गरेर प्रथमवर्ष ४० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत र तेस्रो वर्ष पनि ३० प्रतिशतका दरले तोकिएको शुल्क लिनुपर्ने उल्लेख छ । तर धनकुटा इन्स्टिच्युटले भने तीनवर्षको लागि सामान्य चिकित्सा एचएको लागि तीनवर्षको कुल ४ लाख ४ हजारको पहिलो वर्ष ४० प्रतिशतले हुन आउने भर्ना शुल्क १ लाख ६१ हजार ६ सय लिनुपर्नेमा सोभन्दा बढी लिएको पाइएको हो । एचएमा धनकुटा इन्स्टिच्युटले भर्ना हुने बित्तिकै प्रथम किस्ता बापत २ लाख ४७ हजार लिएको प्रशिक्षार्थीहरूले बताए । उनीहरूले एचएको भर्नाको लागि प्रथम किस्ता बापत भन्दै ४ वटा शीर्षकमा रकम लिएको बताए । जसमध्ये तीनवर्षे एचएको पठन–पाठन शुल्क, रजिष्ट्रेशन शुल्क भनेर १ लाख ६१ हजार ६ सय, धरौटी बापत शुल्क १० हजार, विभिन्न सामान खरिद शुल्क बापत ३ वर्षको लागि ४५ हजार र थप ३० हजार भने अग्रिम शुल्क बापत गरी २ लाख ४७ हजार ४० जना प्रशिक्षार्थीहरूबाट लिने गरेको बताए । यसरी हेर्दा ३ वर्षमा प्रतिप्रशिक्षार्थी ४ लाख ८० हजारका दरले सिटिइभिटीले तोकेभन्दा ७६ हजार रूपैयाँ बढी लिइने देखिन्छ । त्यसो त १८ महिने सिएमएमा पनि सिटिइभिटीले प्रतिप्रशिक्षार्थी १ लाख भर्ना, रजिष्ट्रेशनलगायतको पठन–पाठन शुल्क तोकेको भए पनि धनकुटा इन्स्टिच्युटले भने ३ वटा शीर्षक मिलाएर अग्रिम १ लाख ४५ हजार लिने गरेको स्रोतले दाबी गरेको छ । समाचार स्रोतका अनुसार सिएमएमा भर्ना, रजिष्ट्रेशन बापत १ लाख १० हजार, विभिन्न सामग्री खरिद शुल्कबापत ३० हजार र ५ हजार धरौटी गरी प्रतिप्रशिक्षार्थी जम्मा १ लाख ४५ हजार लिएको बताएको हो । त्यसैगरी १८ महिने अनमीको लागि सिटिइभिटीले प्रतिप्रशिक्षार्थी १ लाख २० हजार लिनुपर्नेमा १ लाख ५५ हजार प्रतिप्रशिक्षार्थी लिने गरेको पाइएको हो । यसरी हेर्दा इन्स्टिच्युटले एचएमा ४० जना विद्यार्थीबाट ३० लाख ४० हजार, सिएमएमा ४० जना विद्यार्थीबाट १८ लाख र अनमीमा ४० जना विद्यार्थीबाट १४ लाख गरी जम्मा ६२ लाख ३० हजार विभिन्न शुल्क निर्धारण गरेर बढी शुल्क लिएको पाइएको छ । निःशुल्क पढ्नको लागि छात्रवृत्ति पाएका १२ जना प्रशिक्षार्थीहरूबाट पनि अग्रिम शुल्क लिने गरेको खुलेको छ । यसरी शिक्षालाई व्यापारीकरण गरी जथाभावी शुल्क लिएर सर्वसाधारण जनतालाई शोषण गर्दा पनि नियमनकारी निकायहरू भने मुकदर्शक भएर बसेको देखिन्छ । धनकुटा इन्स्टिच्युटका सञ्चालक एवम् प्रिन्सिपल रामनारायणप्रसाद रामाले भने विद्यार्थीहरूले भर्ना लिइसेकपछि सिटिइभिटीले शुल्क निर्धारण गरेको बताए । उनले व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाहरूको राष्ट्रिय छातासङ्गठन फोरम फर हेल्थ एण्ड साइन्सको देशव्यापी निर्णय बमोजिम निर्धारण गरेको शुल्क लिएको खुलाए । पछि शुल्क घटेर आए फिर्ता गरिने प्रिन्सिपल रामाले ब्लाष्टलाई बताए ।