वराहक्षेत्र । नेपाल लिटरेरी ग्रुप झापाको १६ औं श्रृङ्खलामा तीन कवि गुञ्जिएका छन् । गत शुक्रबार दमकमा आयोजना गरिएको कार्यक्रममा यो बेलाका र्चर्चीत युवा कविहरू राज माङ्लाक, सुन्दर कुरुप र राजु स्याङ्तानले आ–आफ्ना सुन्दर कविता सुनाए । उनीहरुले झण्डै दुइ दर्जन कविता सुनाए । कार्यक्रमको शुभारम्भमा यो वर्षको मदन पुरस्कारको श्रेष्ठ आठमा परेका लिम्बुनी गाउँका कवि राज माङ्लाक मञ्चमा उक्लिए । उनले ‘लिम्बुनी गाउँ’, ‘प्रेम कविताको अवशान’, ‘गाउँ र शहर’, ‘साँवा खोलाको गीत’, ‘राष्ट्रियता’ र ‘यौटा मिल्किसकेको पर्स देखेपछि’लगायतका कविता सुनाए । उनले यी कविता सुनाइरहँदा हलमा सन्नटा छाएको थियो । कुनै–कुनै कविताले हाँसोको फोहोरा छुटाएको थियो । राजपछि मञ्चमा काठमाडौबाट आएका कवि राजु स्याङतान आए । उनले ‘गुमनाम ताराहरू’, ‘आमा तिमी मात’, ‘रेमिट्यान्स’, ‘नागरिक्ता’, ‘रामबहादुर मार्ग’ लगायतका कविता सुनाए । कविता वाचनको अन्तिम क्रममा आएका सुन्दर कुरुपले ‘लालमाया धिमालको मुस्कान’, ‘सुनसान गाउँ’, ‘रक्सी नपिएको साँझ’, ‘बाउ’, ‘गितार’, ‘सोल्टिनी साइली’, ‘पृथ्वीको आविस्कार’ लगायतका कविता सुनाए । लिटरेरी ग्रुपका अध्यक्ष तथा सभाध्यक्ष प्रकाश बुढाथोकीले फरक परिवेशका कविलाई प्रस्तुत गर्न पाउँदा खुशी लागेको बताए । यस्तै कार्यक्रम संयोजनकर्ता विराट किरातीले पूर्वलाई साहित्यको हब बनाउने अनप्लग्डको उद्देश्य रहेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि कवि बद्री भिखारी थिए । सहजकर्ता मेची पुत्र थिए ।